पहिरोले ५१, बाढीले २३ जिल्ला जोखिममा- समाचार - कान्तिपुर समाचार

पहिरोले ५१, बाढीले २३ जिल्ला जोखिममा

मनसुन भित्रिएको ५ दिनमै देशभर सक्रिय हुँदा ठाउँठाउँमा विपत्ति, यो वर्ष १८ लाख ४ हजार ६ सय ९७ जना प्रभावित हुने आकलन
अब्दुल्लाह मियाँ

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन अवधिमा बाढी र पहिरोबाट १८ लाख ४ हजार ६ सय ९७ जना प्रभावित हुने आकलन गरेको छ । बाढीले १६ लाख ८७ हजार ४ सय ८० र पहिरोले १ लाख १७ हजार २ सय १७ जना प्रभावित हुने प्राधिकरणको अनुमान छ ।

यो वर्षको मनसुनमा पहिरोले ५१ जिल्ला प्रभावित हुने आकलन छ । बाढीका कारण तराईका २३ जिल्ला अति प्रभावित हुने प्राधिकरणको विश्लेषण छ । केही वर्षयता बाढीभन्दा पनि पहिरोजन्य विपद्का घटना बढेका छन् । गत वर्ष १ सय २० दिनसम्म रहेको मनसुनमा पहिरोका ४ सय ७५ र बाढीका ४ सय ३६ घटना भएका थिए । त्यस अवधिमा ३ सय ४७ जनाको ज्यान गएको थियो भने १ सय जना बेपत्ता भएका थिए ।

यो वर्ष मनसुन भित्रिएको ५ दिनमै देशभर सक्रिय हुँदा ठाउँठाउँमा विपत्ति निम्तिएको छ । मौसमविद्हरूका अनुसार नेपालमा सामान्यतया १० जुनमा मनसुन सुरु हुन्छ र २३ सेप्टेम्बरसम्म सक्रिय हुन्छ । यसपालि ११ जुन (२८ जेठ) मै पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेको हो । ‘पोखरा आसपासमा अति वर्षा भएको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने, ‘एक सय मिलिमिटरभन्दा बढी वर्षा हुनु भनेको धेरै हो ।’

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार मनसुन प्रवेश भएकै दिन सिन्धुपाल्चोकको शेर्माथान क्षेत्रमा ११०.२ मिलिमिटर वर्षा भएको थियो । १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १ सय र २४ घण्टामा १४० मिमिलाई भारी वर्षा मानिन्छ । यस्तो किसिमको वर्षाले कमजोर भूगोल भएको क्षेत्रमा पहिरो निम्त्याउने जानकारहरू बताउँछन् । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को १९ औं सत्रले दक्षिण एसियाका धेरै भूभागमा यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने वैशाख १५ मा आकलन गरेको थियो ।

नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् नरेन्द्रराज खनालले यसपालि मेलम्चीभन्दा माथिल्लो क्षेत्रका पुराना पहिरोमा वर्षापछि थप पहिरो जाँदा ढुंगा, माटो, रूखबिरुवासहितको लेदोले तल्लो तटीय क्षेत्र (मेलम्ची क्षेत्र) मा असर परेको बताए । ‘हिमताल फुटेर आएको हो कि भनेर मैले नक्सा हेरें,’ उनले बुधबार कान्तिपुरसँग भने, ‘माथिल्लो क्षेत्रमा ठूला हिमताल पनि देखिएनन्, फुटेको पनि छैन ।’ उनका अनुसार मेलम्चीभन्दा माथिका स्थानमा २०७२ सालको भूकम्पपछि धेरै ठाउँमा पहिरो आएको थियो । सिन्धुपाल्चोकका पहिरोबारे लामो समय अध्ययन गरेका खनालले भने, ‘एकै पटक पहिरो आएको होइन, पटक–पटकको पहिरो एकै पटक बगेपछि तल्लो तटीय क्षेत्रमा बबन्डर भएको हो ।’ मौसमविद् कँडेलका अनुसार मनसुन सुरु भएपछिका पाँच दिनमा गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका धेरैजसो स्थान तथा कर्णाली र वाग्मती प्रदेशका केही स्थानमा १ सय मिमिभन्दा बढी वर्षा भएको छ ।

गण्डकी प्रदेशको म्याग्दीको घोरेपानी, स्याङ्जाको स्याङ्जा र चापाकोट, कास्कीको लुम्लेमा २ सय मिमिभन्दा बढी वर्षा भएको छ । छोटो अवधिमा ठूलो परिमाणमा वर्षा भए पहिरोजन्य विपद् र फ्ल्यास फ्लड (आकस्मिक बाढी) को सम्भावना अत्यधिक हुन्छ । ‘मनाङमा भएको त्यही हो,’ कँडेलले भने । इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकाल मनसुनका बखत उपल्लो तटमा पहिरो जानु र खोला थुनिनु अनि बीचको तट र तल्लो तटमा बाढी आउनुलाई नियमित प्रक्रिया भन्छन् । ‘यो प्रक्रिया नेपालका लागि नयाँ हुँदै होइन,’ उनले भने, ‘त्यही भएर हाम्रो अध्ययन उपल्लो र तल्लो तटलाई समग्र रूपमा जोड्ने खालको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएका हौं ।’

न्यूनीकरणका काम शून्य

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी सञ्जाल (आईपीसीसी) का अनुसार जलवायु परिवर्तनका कारण बाढीपहिरो, चरम मौसम (एक्स्ट्रिम वेदर), खाद्य संकट, डढेलो, आँधीबेहरी, हिमपहिरो, हिमताल विस्फोट (जीएलओएफ), तातो वायुजस्ता घटना विश्वभर नै बढिरहेका छन् । विपद्विज्ञ मधुकर उपाध्याले केही वर्षयता मनसुनमा विपद्जन्य घटना बढेको देखिए पनि त्यस्ता घटना तथा क्षति न्यूनीकरणमा कामै नभएको बताउँछन् ।

‘वर्षभरि चुप लागेर बस्ने अनि कहिले विपद् निम्तिएला र रेस्पोन्स गरौंला भनेर बस्नेजस्तो मात्र भयो,’ उनले भने, ‘विपद् न्यूनीकरणका काम गर्नुपर्छ भन्ने चेत अझै भएन ।’ विज्ञ उपाध्याले जोखिम न्यूनीकरण राज्यको कुनै एक संस्थाको प्रयासले मात्र सम्भव नहुने भएकाले त्यसलाई देशव्यापी अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘विपद् जोखिम न्यूनीकरणलाई विकेन्द्रित बनाउनुपर्‍यो,’ उनले भने, ‘देशभर विद्यालयस्तरमा यस्तो अभियान अघि बढाइयो भने परिणाम बल्ल आउँछ र कालान्तरसम्म त्यसले काम गर्छ ।’

गत वर्षको मनसुनको प्रवृत्ति पहिलेभन्दा अलिक फरक देखिन्छ  । खासगरी सिन्धुपाल्चोक, म्याग्दी, तनहुँ, कास्की, अछाम, बाजुरा, दार्चुला, बझाङ, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, स्याङ्जा, बागलुङ, संखुवासभा, गोरखा, धादिङलगायतका जिल्लामा पहिरोजन्य घटना बढी भए र क्षति पनि बढी भयो । सानातिना पहिरोका घटना भने ७६ वटा जिल्लामा भएका थिए । गत वर्षको मनसुनमा सानो क्षेत्रमा केन्द्रित भएर आएको हाँडीघोप्टे अर्थात् मुसलधारे वर्षा (क्लाउड ब्रस्ट) ले विपद्का धेरै घटना निम्त्याएको थियो, यो पटक पनि त्यही समस्या दोहोरिने सम्भावना छ । उपाध्याले सानो क्षेत्रमा खनिने मुसलधारे वर्षाले अकल्पनीय क्षति गर्न सक्छ भन्ने गत वर्षको मनसुनले पुष्टि गरेको बताए । ‘केही वर्षयता पहाडी र हिमाली क्षेत्रसम्मै सानो क्षेत्रमा मात्र केन्द्रित भएर मुसलधारे वर्षा हुने क्रम बढेको छ,’ उनले भने ।

जलवायु परिवर्तनविज्ञ ङमीन्द्र दाहाल जलवायुजन्य जोखिम बढिरहेकाले त्यसबाट निम्तिने असर न्यूनीकरण र नोक्सानीलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताउँछन् । ‘क्षतिपछि गोहीको आँसु बगाएर मात्र हुँदैन,’ उनले भने, ‘सबभन्दा पहिला जवाफदेही निकाय पहिचान हुनुपर्‍यो, उक्त निकायले जोखिम न्यूनीकरणमा दत्तचित्त लगाएर काम गर्नुपर्‍यो ।’ विपद् जोखिम न्यूनीकरणमा खर्चिने रकम यथेष्ट नभएकाले त्यसमा बढाउनुपर्ने उनको सुझाव छ । ‘कागजमा धेरै कुरा छन् तर व्यवहारमा कसले के काम गर्ने हो, स्पष्ट छैन । त्यसैले कुनै एउटा निकायलाई जिम्मेवार बनाउनुपर्छ,’ दाहालले भने ।

पर्वतीय, हिमाली र टापु राष्ट्रहरूमा जलवायुजन्य जोखिम बढिरहेकाले यसको सम्बोधन गर्न विकसित मुलुकहरू सहयोगका लागि तत्पर हुनुपर्ने आवाज अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्ने गरेको छ । जलवायुजन्य जोखिम तथा हानि/नोक्सानी सम्बोधन गर्न आर्थिक लगानी जुटाउनेबारे नेपालसहितका पर्वतीय र टापु मुलुकहरूले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकको सम्मेलनहरूमा पनि दबाब दिन सुरु गरेका छन् । उक्त विषयमा यूएनएफसीसीसीका १ सय ९७ वटा पक्ष मुलुकको बैठकले सहमति जुटाउन भने सकेको छैन ।

जलवायुजन्य जोखिम झेलिरहेका नेपालसहित अतिकम विकसित र टापु देशहरूले हानि/नोक्सानीका क्षेत्रमा लगानी गर्न अलग्गै संयन्त्र बनाउन र त्यसमा वित्त (क्लाइमेट फाइनाइन्स) सुनिश्चित गर्न दबाब दिए पनि विकसित मुलुकहरू पन्छिने गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले अहिलेकै हिसाबले विश्वमा कार्बन उत्सर्जन भइरहने हो भने सन् २१०० सम्ममा तापक्रम ४.२ देखि ६.५ डिग्री सेल्सियससम्म पुग्ने चेतावनी दिएको छ । त्यसको प्रत्यक्ष असर नेपालका हिमाल, जनजीवन र अर्थतन्त्रमा पर्नेछ ।

जल तथा मौसम विज्ञान विभागले तीन दिनको मौसमको पूर्वानुमानको बुलेटिन बिहान र बेलुकी ६ बजे अपडेट गरिरहेको छ । बाढीको पूर्वानुमान तथा पूर्वसूचना बुलेटिन हरेक दिन बिहान ७ बजे अपडेट हुन्छ । बाढीको सतर्कता तहनजिक पुग्न लागे, सतर्कता तह पार गरे, खतरा तह पार गरे वा अन्य विषम अवस्थामा देशका मुख्य नदी जलाधारमा नेपाल टेलिकम र एनसेलमार्फत जलाधारका सर्वसाधारणलाई मोबाइलमा एसएमएस पठाउने व्यवस्था गरिएको छ ।

देशभरका सर्वसाधारणलाई ११५५ नम्बरको टोल फ्रि सेवा सुरु गरिएको छ । गृह मन्त्रालयमातहतको प्राधिकरणले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनईओसी) लाई चौबीसै घण्टा सञ्चालन गरेको छ । राहत, खोज तथा उद्धार कार्यमा समन्वय र सहजीकरणका साथै प्रतिकार्य र राहत सामग्री भण्डारणका लागि सात वटै प्रदेशमा एउटा स्टेसनको व्यवस्था गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जानकारी दिए ।

प्रकाशित : असार ५, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

चीनतर्फ पहिरोले थुनिएपछि माथिल्लो तामाकोसी आयोजनाको जलाशय खाली गरिँदै

‘जस्तोसुकै बाढी आए पनि डेढ घण्टा तामाकोसीको बाँधले थेग्छ । उक्त समयमा तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलाशय खाली गरिएको हो ।’ - प्रवक्ता गणेश न्यौपाने
केदार शिवाकोटी

दोलखा — तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ । पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको हो ।

फाइल तस्बिर : दोलखाको लप्ची उपत्यका । नेपाल-चीन सीमामा पर्ने यही क्षेत्रमा अहिले पहिरोका कारण तामाकोसी नदीको सहायक रोङ्सी खोला थुनिएको हो । 

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

कुनै पनि वेला उक्त खोलाबाट बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘जस्तोसुकै बाढी आए पनि डेढ घण्टा तामाकोसीको बाँधले थेग्छ,’ न्यौपानेले भने, ‘उक्त समयमा तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलासय खाली गरिएको हो ।’ तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने काम भइरहेको उनले बताए । ‘तामाकोसीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ,’ उनले भने ।

त्यस्तै प्रजिअ घिमिरेले बाढी रोक्नका लागि जलाशयको पानी घटाउने काम भइरहेको बताए । ‘कुनै पनि वेला ठूलो बाढी आउन सक्ने भन्दै चिनियाँ अधिकारीहरुले भनेका छन्,’ उनले भने ‘बाढी रोक्नका लागि तामाकोसी आयोजनाको जलशयबाट पानी घटाउने काम भएरहेको छ ।’

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय । फाइल तस्बिर : कान्तिपुर

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति नै चीनको तिङ्ग्री सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर तामाकोसी नदी थुनिएको सूचना प्राप्त भएको बताएको थियो । ‘भौगोलिक विकटताका कारण उक्त थुनिएको खोलाको अवस्था के छ थाहा हुन सकेको छैन,’ प्रजिअ घिमिरेले भने, ‘चिनियाँ अधिकारीहरुले सुरक्षित हुन आग्रह गरेका छन् ।’

खोला थुनिएकाले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलको माथिल्लो भेगमा तामाकोसीमा पानीको मात्रा घटेको उनले बताए । उनका अनुसार लप्ची नजिकै ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ । ‘लप्चीनजिकै सीमामा पहिरो गएको चिनियाँ पक्षले भनेको छ,’ उनले भने, ‘बाढी आउन सक्ने भनेर हामीलाई भनेको छ, नदीतटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन भनेका छौं ।’

नदी थुनिएको क्षेत्रमा ताल बनेको चिनियाँ अधिकारीहरुले जनाएको उनले जानकारी दिए । बाढी आउन सक्ने नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले बताए । अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तामाकोसी नदीको बहाव निरीक्षण गरिरहेको छ ।

सम्बन्धित समाचार


प्रकाशित : असार ५, २०७८ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×