१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीसहित ८ को मृत्यु

दीपक परियार

पोखरा — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावकै कारण बिहीबार र शुक्रबार ८ संक्रमितले ज्यान गुमाएका छन् । प्रतिष्ठानअन्तर्गत कोभिड डेडिकेटेड पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत तनहुँका ३, कास्कीका २, पर्वत, स्याङ्जा र म्याग्दीका १–१ जनाले ज्यान गुमाएका हुन् । 

अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीसहित ८ को मृत्यु

‘हाइफ्लो’ अक्सिजन दिएर राखिएका चार जनासहित आईसीयूमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका–११ की २५ वर्षीया सुत्केरी पनि छिन् । शुक्रबार शल्यक्रियामार्फत बच्चा जन्माएकी उनलाई हाइफ्लो अक्सिजन दिइएको थियो । आफन्तका अनुसार अस्पतालमा बिहीबार दिउँसैदेखि अक्सिजनको अभाव हुन थालेपछि राति स्वास्थ्यकर्मीले यसबारे जानकारी गराएका थिए । त्यसपछि संक्रमितका आफन्त राति नै पोखरा अक्सिजन ग्यास प्रालिमा पुगे ।

कम्पनीले अस्पताललाई नियमित पठाइरहने संख्यामा अक्सिजन सिलिन्डर पठाएको बतायो । झन्डै आधा घण्टाजति अक्सिजन शून्यको अवस्थामा आयो । त्यतिबेला राति ११ देखि ४ बजेको बीचमा ६ संक्रमितले ज्यान गुमाएका हुन् । ‘अस्पतालले अक्सिजन आउँछ–आउँछ भन्दाभन्दै मेरी श्रीमतीको ज्यान गयो,’ संक्रमित महिलाका श्रीमान्ले भने, ‘बेलैमा अक्सिजन पाएको भए बाँच्थिन् होला ।’

शुक्रबार मात्रै कोरोनामुक्त भएका पर्वतका एक पुरुष बिहीबार रातिको घटना कहालीलाग्दो भएको सम्झन्छन् । ‘कुरुवा रुने, चिच्याउने गरे । मेरो आफन्तलाई बचाइदेऊ, छिटो अक्सिजन देऊ भनेर हारगुहार गरे,’ उनले भने, ‘आधा घण्टाजति अक्सिजन आएन ।’

अस्पतालका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल अक्सिजन शून्य नभइ पर्याप्त नहुँदा ‘प्रेसर’ नपुगेको दाबी गर्छन् । ‘हाइफ्लो नेजल क्यानुला सिस्टमबाट ६० देखि ८० लिटर प्रतिमिनेट दिँदा अक्सिजनको आवश्यकता एकदमै बढी हुन्छ,’ उनले भने, ‘त्यस्तोमा पर्याप्त अक्सिजन नहुँदा प्रेसर पुग्दैन ।’

अक्सिजन केही कम हुनेबित्तिकै बिरामीका आफन्त आत्तिँदा हतासको स्थिति हुने उनी बताउँछन् । अस्पतालमा ८ संक्रमित ‘हाइफ्लो’ मा भएकामध्ये ४ जनाको ज्यान गएकाले अक्सिजन अभाव भन्न नमिल्ने उनको तर्क छ । अक्सिजन आपूर्ति गर्ने पोखरा अक्सिजन ग्यास प्रालिमा बिहीबार दिउँसो २० मिनेट बत्ती भएको उनले बताए । प्लान्ट सञ्चालन गर्न अर्को २५ मिनेट लाग्यो । यसरी ४५ मिनेट उत्पादन रोकिँदा अस्पतालमा केहीबेर अक्सिजनको कमी भयो । ‘केही दिनअघिसम्म उपचार गर्ने अस्पताल थोरै थिए । अक्सिजन पुग्थ्यो,’ उनले भने, ‘अहिले उपचार गर्ने अस्पताल बढ्दै छन् । अक्सिजन सिलिन्डरको आपूर्ति बढिरहेको छ । अन्यत्र पनि सिलिन्डर लैजादा अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या आएको हो ।’

अस्पतालकै एक कर्मचारीले बिहीबार दिउँसो ३ बजे र साढे ४ बजे दुईपल्ट आधा–आधा घण्टा अक्सिजन शून्यमै झरेको बताए । अस्पतालले भने शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार बिहान प्लान्टमा विद्युत् रोकिँदा केही समय अक्सिजनको उत्पादन प्रभावित भएर पर्याप्त मात्रामा अक्सिजन आपूर्ति हुन नसकेको स्विकारेको छ । यद्यपि, वार्डमा हुने आपूर्ति नरोकिएको अस्पतालको दाबी छ । उच्च मात्रामा अक्सिजन दिई उपचारकै क्रममा ती संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमध्ये धेरै जनामा मृगौल, कलेजो, पक्षघात, मधुमेहजस्ता दीर्घकालीन स्वास्थ्य समस्या भएको र कडा किसिमको निमोनिया देखिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले अभाव भए पनि अक्सिजन नभएरै ज्यान गुमाउनुपर्ने अवस्था नरहेको दाबी गरे । ‘अक्सिजनको डिमान्ड एक्कासि बढ्यो, पाइपलाइनले धानेन,’ उनले भने, ‘सिलिन्डरको अभाव भएको होइन । डिमान्ड बढेपछि त्यही मात्रामा नगएको हो ।’

३५० बेडको अस्पतालमा हालसम्म अक्सिजन प्लान्ट छैन । अस्पतालले बर्सेनि टेन्डर प्रक्रियाबाट अक्सिजन खरिद गर्छ । चालु आर्थिक वर्षमा पोखरा अक्सिजन ग्यास प्रालिले टेन्डर पारेको छ । यो त्यही ग्यास उद्योग हो, जहाँ क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सककै लगानी छ । अस्पतालले पोखरा अक्सिजनबाट प्रतिसिलिन्डर १ सय ४९ रुपैयाँमा खरिद गर्दै आएको छ । अस्पतालमा हाल ८० संक्रमितको उपचार भइरहेको छ । दैनिक ३ सय ६० सिलिन्डर अक्सिजन अस्पतालमा खपत हुन्छ । यति धेरै मात्रामा अक्सिजन प्रयोग हुने अस्पतालमा भने कोभिडको दोस्रो लहर आउँदासम्म पनि अक्सिजन प्लान्ट तयार भएको छैन ।

अस्पतालमा अक्सिजन प्लान्टको योजना आउँदै नआएको भने होइन । हाल ३ अक्सिजन प्लान्ट पाइपलाइनमा छन् । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय योजना कार्यान्वयन इकाइले अस्पतालमा रेट्रो फिटिङ (भवन प्रवलीकरण) को काम गरिरहेको छ । प्राविधिक र आर्थिक सहयोग नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम (एनएसएसपी) र अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) ले गरेका छन् । रेट्रोफिटिङ आयोजनाभित्रै अक्सिजन प्लान्ट निर्माण योजनासमेत छ । बिकोइ/रौताहा/पीके जेभीसँग विभागले गत वर्ष असार २९ मा सम्झौता गरेको थियो । आयोजना सम्पन्न गर्नुपर्ने मिति २०७९ असार २८ रहेको छ ।

ठेकेदार कम्पनी रौताहाका सञ्चालक धर्मराज दाहालका अनुसार भवन निर्माण विभागसँगको सम्झौताअनुसार अस्पतालको पुराना भवनको रेट्रोफिटिङपछि अन्तिममा अक्सिजन प्लान्ट निर्माणलाई राखिएको छ । गतवर्ष महामारीमा समेत अस्पतालले पहिले अक्सिजन प्लान्ट बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरेन । महामारी कम भएपछि प्लान्ट बिस्तारै बनाए पनि हुने ठानेर अस्पतालले जोडबल नगरेको हुन सक्ने दाहालको बुझाइ छ । दोस्रो लहरको महामारी आउने र अक्सिजनको चरम अभाव हुन सक्ने देखेपछि अस्पतालले हालै कम्पनीलाई पहिला अक्सिजन प्लान्ट बनाउन आग्रह गरेको छ । ‘पहिला प्लान्ट कहाँ राख्ने भन्ने निश्चित थिएन,’ दाहालले भने, ‘अहिले ठाउँ पाएर फाउन्डेसनको काम हुँदैछ ।’

कम्पनीले फलामे ट्रसको प्लान्ट राख्ने भवन बनाउँदै छ । भवन मात्रै भएर भएन, मुख्य रूपमा आवश्यक अक्सिजन प्लान्ट भने छिट्टै आउने छाँट देखिँदैन । ‘सप्लायरसँग कुरा भइरहेको छ,’ उनले भने, ‘प्लान्ट आइपुग्न कम्तीमा पनि पाँच महिना लाग्न सक्छ ।’ त्यसबाहेक स्वास्थ्य मन्त्रालयमार्फत संयुक्त राष्ट्रसंघको अनुदानमा अर्को प्लान्ट आउँदै छ । अस्पतालका निर्देशक डा. खत्रीले ४ देखि ८ साताभित्र उक्त प्लान्ट अस्पतालमा आइपुग्ने र उत्पादन क्षमता दैनिक १ सय ५० देखि १ सय ७० सिलिन्डर रहने बताए ।

बतास फाउन्डेसनको अगुवाइमा पनि दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट निर्माण गर्न पोखरामा सहयोग संकलन भइरहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?