पाल्पामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु 

जेष्ठ १४, २०७८

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका र रम्भा गाउँपालिका एक/एक र  रैनादेवी छहरा गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो । 

तानसेन नगरपालिका–२ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि तानसेन नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।

रैनादेवी छहरा गाउँपालिका–२, सोमादीका ४९ वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमादीकै ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचार गरी थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको र उपचारका क्रममा निधन भएको वडाध्यक्ष जीवनाथ पोखरेलले बताए । 

रम्भा गाउँपालिका–३, पिपलडाँडाका ५३ वर्षीय पुरुषको उपचारका लागि रम्भा गाउँपालिकाको हुँगीमा सञ्चालित कोभिड अस्पतालमा लैजाँदै गर्दा निधन भएको छ । अवस्था गम्भीर भएको थाहा पाउनासाथ एम्बुलेन्समा राखेर कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।

केही दिनदेखि ज्वरो आएर घरमै बसेका उनको अवस्था असामान्य भएपछि अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले बताए । बाक्लो बस्ती रहेको पिपलडाँडाको झेस्काङलाई सिल गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाको छ । 

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully