सानालाई नसम्हाल्दा जटिलता बढी

जेष्ठ १४, २०७८

दीपक परियार

पोखरा — निषेधाज्ञा जारी भएको एक महिना बितिसक्दा पनि गण्डकीमा कोरोना संक्रमितको संख्यामा कमी आउन सकेको छैन । बिहीबार गण्डकीमा १ हजार ७ सय ३३ नयाँ संक्रमित थपिए । एकै दिन संक्रमित भएको यो संख्या हालसम्मकै उच्च हो । 

निषेधाज्ञापछि कोरोना संक्रमण घट्नुपर्नेमा पछिल्लो दुई साताको तथ्यांकले भने झन् बढेको देखाएको छ । जेठ १ मा ७ सय ७० संक्रमित थपिएका थिए । जेठ ६ मा १ हजार ३ सय ७२ नयाँ संक्रमित थपिए । जेठ ११ मा यो संख्या १ हजार ५ सय ४९ पुग्यो । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा अहिलेको भेरियन्ट परिवारभित्रै गुणा भइरहँदा संक्रमण दर कम नभएको बताउँछन् ।

‘अहिले धेरै बच्चाबच्चीमा कोरोना संक्रमण देखिएको छ,’ उनी भन्छन्, ‘उनीहरूको व्यवहार सुरक्षित गर्न नसक्दा छिटो फैलिरहेको छ ।’

बच्चाबच्चीबाट हजुरबुबा हजुरआमालाई सरिरहेको र वृद्धवृद्धा दीर्घरोगीलाई सर्दा मृत्युदर पनि बढिरहेको उनको भनाइ छ । ‘अहिले समुदायस्तरमै संक्रमण छ,’ उनले भने, ‘प्रत्येक व्यक्ति जिम्मेवार बन्यो भने केही सातामै संक्रमण दर घट्छ ।’

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय–अन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा.रामबहादुर केसी निषेधाज्ञाको प्रभाव अझै २–३ सातापछि बल्ल देखिने बताउँछन् । ‘दोस्रो लहरको सुरुआतमा संक्रमित भएकाबाट परिवार र टोल छिमेक सर्‍यो, उनीहरूबाट फेरि अरूलाई सर्‍यो,’ उनले भने, ‘एकजना संक्रमित भइसकेपछि १० दिनपछि मात्रै अरूलाई सर्दैन । त्यो बीचमा परीक्षण नै नगराउनेबाट कोरोना फैलियो ।’

अस्पतालमा बेड, अक्सिजन नपाइने, उपचार खर्च धेरै लाग्ने भयले कोरोनाका लक्षण भएकाले परीक्षण नै नगर्दा धेरैलाई सरेको उनको तर्क छ । ‘अहिले मृत्युदर धेरै हुनुको कारण पनि त्यही हो,’ उनले भने, ‘सिकिस्त भइसकेपछि मात्रै अस्पताल आएकाको धेरै मृत्यु भएको छ ।’ निषेधाज्ञाबाट मात्रै कोरोना पूर्ण रूपमा निर्मूल नहुने उनको भनाइ छ । छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न सके नियन्त्रणमा ल्याउन सकिने उनले बताए । 

प्रदेशमा हाल ११ हजार २ सय ६७ सक्रिय संक्रमित छन् । तीमध्ये होम आइसोलेसनमा बस्ने मात्रै १० हजार ५ सय ७४ छन् । ५ सय ९४ संक्रमितले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धरै कास्कीमा ३ हजार ९५ सक्रिय संक्रमित छन् । प्रदेशको ११ वटै जिल्लामा कोरोना फैलिएको छ । 

कोरोना भाइरस

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully