९ जना चिकित्सकको दरबन्दी, एक जना मात्र कार्यरत
रौतहट — जनशक्ति अभावमा रौतहटको सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आएको छैन । अस्पतालमा रहेको १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन थन्किएको हो । कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा धमाधम बाहिर रेफर गर्न थालिएको छ ।
अस्पतालमा ९ जना चिकित्सकको दरबन्दी रहेकामा हाल एक जना मात्र कार्यरत छन् । दरबन्दीअनुसार चिकित्सक भइदिए आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याइने अस्पताल प्रमुख डा. कृष्ण साहले बताए । ‘चिकित्सक पठाइदिनुस् भनेर हारगुहार गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ भएन,’ उनले भने, ‘कोभिडको महामारीका बेला बिरामी गम्भीर बनेपछि बाहिर रेफर गर्नुको विकल्प रहेन ।’
अस्पतालको पश्चिमपट्टिको अर्को भवनलाई अस्थायी कोभिड वार्ड बनाइएको छ । अस्पतालकै चिकित्सक ड्युटी मिलाएर कोभिड वार्डमा खटिएका छन् । अस्थायी अस्पतालमा विगत ३ दिनमा ७ संक्रमितले ज्यान गुमाएका छन । संक्रमण लागेर गम्भीर भएका बिरामीलाई तत्काल आईसीयू र भेन्टिलेटरमा राख्नुपर्छ । तर, अस्पतालमा भएका यी सुविधा प्रयोग हुन सकेको छैन । कोभिड अस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाएको स्थानीयको आरोप छ ।
‘अब जवाफ दिँदादिँदै आफैं जिल्ला छाडेर जानुपर्ने अवस्था छ,’ डाक्टर साह भन्छन्, ‘समयमा जनशक्ति भएन भने पछि के काम लाग्छ ।’ अस्पतालमा विगत ३ वर्षदेखि चिकित्सक छैनन् । स्वाब परीक्षणका लागि पीसीआर ल्याबमा पनि जनशक्तिको अभाव रहेको डा. साहले सुनाए । ल्याबमा १४ जना कर्मचारी हुनुपर्नेमा ५ जनाले सेवा दिइरहेका छन् ।
साहका अनुसार प्रदेश सरकारलाई मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको छ । सोहीअनुसार आवश्यक कर्मचारी माग गरेको उनले बताए ।
जिल्लामा १ हजार ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ पुगेको छ । २ सय ३८ जना निको भएका छन् । जिल्लामा अहिले ७ सय ४८ जना सक्रिय संक्रमितहरू छन् । तीमध्ये ७ सय १७ जना होमआइसोलेसनमा, २७ जना साधारण उपचार गराइरहेको र ४ जनाको अन्य जिल्लामा उपचार भइरहेको छ ।
