गाउँघरमै अल्झिँदा ज्यानको जोखिम

कोरोनाको लक्षणजस्तै देखिने रोगको उपचारमा ‘झोले डाक्टर’ को भर

जेष्ठ १४, २०७८

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको कविलासी नगरपालिका–७ का ३० वर्षीय युवकलाई तीन साताअघि ज्वरो र खोकी लाग्यो । गाउँकै मेडिकलबाट औषधि लिए पनि निको भएन । बरु चार दिनपछि पखाला लाग्यो । उनले स्वास्थ्य परीक्षण नगराई झोलामा औषधि बोकेर घरघर पुग्ने ‘झोला छाप डाक्टर’ सँग उपचार गराए ।

टाइफाइड भइसकेको उनलाई ती डाक्टरले स्लाइन पानी चढाइदिएपछि अवस्था झन् बिग्रियो । अन्तिम अवस्थामा परिवारका सदस्यले लालबन्दीको एक अस्पतालमा पुर्‍याए । तर त्यहाँ उनको उपचार सम्भव भएन । भेन्टिलेटरमा राख्नुपर्ने बेला भएकाले अस्पतालमा सुविधा नभएको भन्दै उनलाई रेफर गरिदिए । स्वास्थ्य अवस्था गम्भीर भइसकेको उनलाई परिवारका सदस्यले झापाको एक अस्पतालमा लगे, तर उपचारको क्रममा मृत्यु भयो । 

डेढ महिनाअघि मृतक युवकका ५५ वर्षीय बुबाको राति एक्कासि स्वास्थ्य अवस्था बिग्रेपछि गाउँका त्यस्तै डाक्टरलाई बोलाए । उच्च रक्तचापका कारण शरीरले काम गर्न छोडिरहेका बेला ‘गाउँका डाक्टर’ ले एन्टिबायोटिक औषधि खुवाएर स्लाइन चढाइदिए । स्वास्थ्यमा सुधार नभएपछि अन्तिम अवस्थामा थप उपचारका लागि वीरगन्ज लगिएका उनको पनि उपचारकै क्रममा ज्यान गयो । उक्त घर अहिले अभिभावकविहीन बनेको छ ।

यस्तै निमोनिया भएका स्थानीय ३५ वर्षीय युवकको पनि ‘गाउँका डाक्टर’ सँग उपचार गराउँदा उनलाई कडाखाले एन्टिबायोटिक र स्लाइन पानी चढाएका थिए । झन्डै एक महिनासम्म गाउँले डाक्टरले उपचार गरे पनि निको नभएपछि अन्तिम अवस्थामा परिवारका सदस्यले थप उपचारका लगि वीरगन्ज लगे । उनको त्यही मृत्यु भयो । आफन्तले गाउँको डाक्टरले सही उपचार नगरिदिँदा परिवारको सदस्य गुमाएको बताए । तर गाउँमै बस्ने भएकाले ती डाक्टरमाथि कानुनी उपचार खोजेनन् । ‘गलत उपचारकै कारण मैले पति गुमाए, बेलैमा ध्यान गएन, मृत्यु भएपछि मात्र होस खुल्यो,’ मृतककी पत्नीले भनिन्, ‘गाउँघरमा सबैले यस्तै डाक्टरसँग जाँच गराउँछन् । हामी पनि त्यहीँ गर्‍यौं ।’

जिल्लाका ग्रामीण क्षेत्रमा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आएका बिरामी घरघरै छन् । कोरोनाको लक्षणजस्तै देखिने रोगको उपचार उनीहरूले प्रमाणै नभएका (झोलामा औषधि लिएर हिँड्ने) ‘झोले डाक्टर’ सँग गराइरहेका छन् । यसले एकातिर संक्रमण फैलन कम भएको छैन, अर्कोतिर उचित उपचार नपाउँदा अकालमै ज्यान गुमाइरहेका छन् । त्यस्ता डाक्टरले ग्रामीण क्षेत्रमा अधिकांश बिरामीलाई क्यानुला लागाइदिने गरेका छन् । बालबालिका, वयस्क र वृद्ध सबै बिरामी अहिले क्यानुलाको भरमा चलिरहेका छन् ।

झोले डाक्टरले पेनकिलर र दुईदेखि तीन किसिमको कडाखाले एन्टिबायोटिक औषधि दिने गरेका छन् । यसले गम्भीर बिरामी अकालमै ज्यान गुमाउन बाध्य छन् । जिल्लाका नागरिक अगुवा रजनीकान्त झाले अहिले गाउँमा सामान्य बिरामीको हातमा क्यानुला लगाएको देख्दा आफू अचम्मित बनेको बताए । प्रशासनको निगरानी नहुँदा झोले डाक्टरको मनोबल प्रतिदिन बढ्दै गएको उनको भनाइ छ । ‘बिरामीलाई पछि कस्तो असर गर्छ भन्ने सोच्दैनन् । छिटो निको भएजस्तो देखाएर जसरी पनि पैसा कमाउने दाउमा हुन्छन्,’ उनले भने, ‘यसो गर्दा यो डाक्टरले चाँडै बिरामी निको पार्छ भन्ने भ्रम स्थानीयमा पर्न जान्छ र उनीहरूको व्यापार राम्रैसँग चलेको छ ।’

अस्पतालका चिकित्सकहरू पनि ग्रामीण क्षेत्रबाट बिरामी गम्भीर अवस्थामा मात्र अस्पताल आउने गरेको बताउँछन् । टाइफाइडको सुरुवाती चरणमै बिरामीलाई कडाखाले एन्टिबायोटिक खुवाउने गरेकाले अवस्था नाजुक भएपछि मात्रै अस्पताल आउने गरेको जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले बताए । ‘बिरामीलाई सुरुवाती चरणमै कडाखाले औषधि प्रयोग गराउँदा अवस्था नाजुक भएर आउँछन्,’ उनले भने, ‘यस्तो अवस्थामा बिरामीको ज्यान जोगाउन हामीलाई पनि मुस्किल पर्छ ।’

कविलासी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सञ्जय झाले अस्पतालमा बिरामीले उपचार नपाइरहेका बेला घरघरै रहेका ज्वरो र रुघाखोकीका बिरामी गाउँघरकै डाक्टरले निको पार्ने प्रयास गरिरहेको बताउँछन् । उनले यसलाई प्रभावकारी बनाउनका लागि नियमनको आवश्यकता रहेको जानकारी दिए ।

कोरोना भाइरस

ओमप्रकाश

Link copied successfully