कोरोना महामारी नियन्त्रणका लागि चीनसँग नेपाली नेताहरूको सहयोगको अपेक्षा

लक्ष्मी लम्साल

बेइजिङ — नेपालमा कोरोना महामारीको दोस्रो लहर प्रवेश गरेको भन्दै सरकारसहित नेपालका राजनीतिक दलहरूले छिमेकी मुलुक चीन समक्ष सहयोगको अपेक्षा गरेका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि चीनसँग नेपाली नेताहरूको सहयोगको अपेक्षा

बुधबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले बेइजिङबाट आयोजना गरेको भर्चुअल बैठकमा सत्तारूढ दल लगायत सबैजसो राजनीतिक दलका नेताहरूले चीनको महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै चीनबाट स्वास्थ्य सामग्रीका लागि ठूलो अपेक्षा गरिरहेको बताएका हुन् । महामारीविरूद्ध संयुक्त संघर्ष तथा जनताको जीवनरक्षा, नेपाल-चीन राजनीतिक पार्टीबीच महामारी विरूद्ध संयुक्त लडाइँ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले कोरोना महामारी विश्वव्यापी संकट भएको बताउँदै सबै मुलुकहरू मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको बताएका थिए ।

सोङ थाओले महामारी नियन्त्रणका लागि ४ वटा उपाय सुझाएका छन्। उनले पार्टीको नेतृत्वमा जनताको जीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौतीको सामना गर्न एकीकृत समन्वय हुनुपर्ने, मन मन जोडेर शक्तिका साथ जुट्नुपर्ने र दृढ योजना अघि सार्नुपर्ने सुझाव दिए । उनले भर्चुअल बैठकमा विभिन्न दलका नेताहरूलाई देखेपछि महामारीका बेलामा नेताहरूले मनमुटावलाई बिर्सिएको आभाष भएको बताए। उनले भने, ‘आज नेपाली नेताहरूले संयुक्त बैठकमा भाग लिएको देख्दा महामारीविरूद्ध संयुक्त अठोट देखिएको छ। यस्तो संकटको बेला आपसी मतभेदहरूको वेवास्ता गर्नुपर्छ ।’

जवाफमा बोलेका नेपाली नेताहरूले महामारी नियन्त्रणमा चीनले ठूलो सफलता पाएको भन्दै नेपालको स्वास्थ्य अवस्था नाजुक भएको स्वीकारे । साथै उनीहरूले मौखिक रूपमा चीनबाट ठूलो सहयोगको आशा गरिरहेको दोहोर्याए ।

उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरेलले नेपाल महामारीको सबैभन्दा गम्भीर मोडमा पुगेका बेलामा चीनले गरेको यस बैठकको उच्च प्रशंसा गर्दै नेपालमा कोभिडको दोश्रो लहर फैलिएको जानकारी गराए । ‘हाम्रो सीमित स्वास्थ्य संरचनाले थेग्न नसक्ने अवस्था आएकाले नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष सहयोगको अपील गरेको छ, उपप्रधानमन्त्री पोखरेलले भने, ‘चीनको सहयोगप्रति नेपाल आभारी छ। चीनले निरन्तर सहयोग गरिरहनेमा नेपाल आशावादी छ ।’

चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त गरेको सफलता, विश्वका लागि नमूना भएको बताउँदै पोखरेलले कोरोना भ्याक्सिन उत्पादनमा पनि चीन उदाहरणीय भएको बताए । चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भ्याक्सिनलाई विश्वव्यापी सहज पहुँच र साझा सम्पत्ति बनाउने भन्ने अभिव्यक्तिको प्रशंसा गरे । साइनोफार्मबाट प्राप्त भ्याक्सिन सहयोगमा प्रसन्नता जनाउँदै उनले भाइरसले राष्ट्रियता र सीमारेखा नभन्ने बताए । ‘यद्यपि ८ हजार दैनिक संक्रमित दर केही हप्ता घट्दै गएपनि कोरोनाको दोश्रो लहर निकै घातक रहेछ’, पोखरलले भने । कोभिडले विश्व अर्थतन्त्रमै असर परेको पनि उनले बताए ।

उपप्रधानमन्त्री पोखरेलले शान्ति, स्थिरता, विकास र समृद्धिको यात्रा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सफल हुने विश्वास गरे र पार्टीको शतवार्षिकीको उपलक्ष्यमा शुभकामना दिए । चीन नेपालको सबैभन्दा घनिष्ठ छिमेकी हुनुका साथै आपसी सम्मानमा अडिक मित्र पनि भएको सुनाए। एक चीन नीतिको दृढतापूर्वक पालना गर्दै आएको बताउँदै पोखरेलले चिनियाँ राष्ट्रपति सीको २०१९ अक्टोबरमा भएको नेपाल भ्रमणका सम्झौताहरू पालना गर्न नेपाल इमान्दार रहेको आश्वासन दिलाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महामारीको यो अवधिमा नेपालमा अक्सिजन, अस्पताल शय्या तथा महामारी नियन्त्रणका सामग्रीको अभाव रहेको र संक्रमण दर बढिरहेको बताए । सर्वसाधारणको जीवनरक्षक सामग्री पठाएकोमा चीनप्रति कृतज्ञ हुँदै दाहालले सन् २०१५ को भूकम्पमा चीनले गरेको सहयोग जस्तै महामारीका बेलामा पनि छिमेकी मुलुकहरूबाट सहयोग पाइरहेको बताए । ‘कोरोनाको दोस्रो लहरमा अनिश्चितता बढी छ, यो अभावपूर्तिमा चीनले सघाएको छ,’दाहालले भने, ‘नेपाली जनताले धेरै भ्याक्सिनको अपेक्षा गरिरहेका छन्।’

महामारीपश्चातको आर्थिक पुनरुत्थानमा पनि चिनियाँ सहयोग चाहिने बताउँदै प्रचण्डले साझा समृद्धिका लागि चीनको सहयोग सदैव अपरिहार्य हुने बताए । उनले चीनले आफ्नो मात्रै नभएर नेपाली जीवनस्तर उकास्न पनि सघाएको सुनाउँदै सी चिनफिङको नेपाल भ्रमणताकाका सहमतिलाई कार्यान्वयन गर्न नेपाल लागिपर्ने बताए ।

नेपाली कांग्रेस नेता डा.नारायण खड्काले नेपाल अहिले स्वास्थ्य संकटमा परिरहेको बताउँदै ठूलो संख्यामा मानवीय क्षति भइरहेको बताए । उनले नेपाली कांग्रेसलाई मास्क सहयोग गरेकोमा नेपालस्थित राजदूत होउ यान्छीप्रति कृतज्ञता जनाए । नेपालको कोरोना महामारी नियन्त्रणमा चीनले स्वास्थ्य सामग्री सहयोग गरेकोमा आभार व्यक्त गरे । नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीच विशेषगरी बीपी कोइरालाको चीन भ्रमणअघिदेखि नै निकै राम्रो सम्बन्ध रहेको बताउँदै कांग्रेस एक चीन नीतिमा अडिग रहेको सुनाए ।

समाजवादी पार्टीका उपेन्द्र यादवले तीव्र प्रतिक्रियाको नीतिले चीनले महामारी नियन्त्रणमा लिएको भन्दै नेपालमा स्वास्थ्य सामग्रीको चरम अभाव रहेकोतर्फ चीनको ध्यानाकर्षण गराए । उनले भेन्टिलेटर, अक्सिजन, मेडिसिन लगायतको अभाव भएकोले चीनबाट सक्दो सहयोग र सहानुभूतिको अपेक्षा राखेको बताए ।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, लगायत साना ठूला दलका नेताहरूले महामारी नियन्त्रणमा चिनियाँ अनुभवको प्रशंसा गर्दै नेपालको भयावह महामारी नियन्त्रणमा चिनियाँ सहयोग हुने अपेक्षा प्रकट गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?