प्रतिनिधिसभा विघटनविरुद्धको कानुनी लडाइँबारे शीर्ष नेताहरूबीच छलफल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनविरुद्धको कानुनी लडाइँबारे शीर्ष नेताहरूबीच छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । 

प्रतिनिधिसभा विघटन बदरको मागदाबीसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता–कार्यकर्ता । तस्बिर : कान्तिपुर

विपक्षी गठबन्धनका शीर्ष चार नेताबीच मंगलबारको भेटमा 'न्यायिक लडाइँ कसरी लड्ने भन्नेबारेमा छलफल' भएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

'अब हामी अगाडि कसरी बढ्ने भन्नेबारेमा छलफल भएको छ । सम्भवतः भोलि, पर्सिदेखि अदालतमा हुने मुद्दाको बहस र त्यसका लागि कानुन व्यवसायीको व्यवस्थापनबारे छलफल हो । कसलाई (बहसका लागि कानुन व्यवसायी) अनुरोध गर्ने भन्ने बारेमा छलफल भएको छ,' लेखकले भने ।

शीर्ष नेताहरूबीच प्रतिनिधिसभा सदस्यहरूका तर्फबाट प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटका विषयमा नै केन्द्रित भएर छलफल भएको लेखकको भनाइ थियो ।

जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन असंवैधानिक भएको भन्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत गएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ११, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट सेती अस्पतालमा थप ४ को मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा मंगलबार दिउँसो सार्वजनिक गरिएको विवरणमा उल्लेख भए अनुसार मृत्यु हुनेहरुमा कञ्चनपुरको पुनर्वास –४ का ६० वर्षीय पुरुष, कैलालीको गोदावरी – १० का ५१ वर्षीय पुरुष, कैलालीको गोदावरी – ९ का ४५ वर्षीय पुरुष र कञ्चनपुरको कृष्णपुर – ५ का २८ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालमा मंगलबार दिउँसोसम्म उपचार गराइरहेका संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आईसियूमा, अक्सिजनको सपोर्टमा ५० जना संक्रमित रहेका छन् । ९ पुरुष र ३ महिला समेत मध्यम अवस्थाका १२ जना आकस्मिक कक्षमा उपचार गराइरहेका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।

अस्पतालबाट पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको भएका छन् भने ४ जना नयाँ संक्रमित भर्ना भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय ५४ जनाको परीक्षण गरिएको छ । जसमध्ये १ सय ३३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मंगलर दिउँसोसम्म अस्पतालमा ६५ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७८ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×