२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ । 

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

'अब लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको छ । त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ,' महतले भने । उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए ।

'राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको हाम्रो निष्कर्ष रह्यो,' महतले भने, 'बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भयो ।'

दिउँसो ९३ भन्दा बढी सांसद छैनन् भन्ने प्रधानमन्त्रीलाई नै मुलुकको जिम्मेवारी दिने गरी बहुमतसहित आएकोलाई प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत काम गरेको महतले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?