३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले : गगन थापा

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि थापाले आक्रोश पोखेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले 'निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न' पनि सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद् !विघटन,पुन:स्थापित संसद्को अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरि विघटन!कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए !'

उनले अगाडि लेखेका छन्, 'सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।'

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?