प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए भाग्ने कुरा छैन : देउवा

विपक्षी दलको भूमिका सही रूपमा निभाऔं : पौडेल 

फाल्गुन १९, २०७७

रमेशकुमार पौडेल

चितवन — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३औं दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भावी राजनीतिक कदमका विषयमा घोचपेच समेत चलेको थियो ।  

वरिष्ठ नेता पौडेलले संसद् विघटनबाट जोगिए पनि विकृतिबाट जोगाउन आवश्यक रहेको बताएका थिए । आफ्नो हैसियत र औकातभन्दा बढी आकंक्षा र महत्वकांक्षा राख्नु विकृति भएको पौडेलले बताए । कांग्रेसले सही रूपमा विपक्षको भूमिका निभाउनु पर्ने पनि उनले बताए । 'हामी संसद्मा सानो संख्यामा छौं तर भूमिका र महत्व ठूलो छ । यो भूमिका पूरा नगरे लोकतन्त्रको रक्षा कसरी हुन्छ ?' पौडेलले भने । 

पौडेलपछि बोलेका सभापति देउवाले भने आफू पार्टी सरकारमा जाँदा र आफू प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने बताएका थिए ।  'रामचन्द्रजी तपाईं सानो चित्त नगराउनुस, तपाइँको कुरा सुन्दा शेरबहादुर प्रधानमन्त्री नहोस्, अरू होस् भन्नेजस्तो बुझिन्छ । त्यसो नगर्नस् । म प्रधानमन्त्री भए पार्टीलाई फाइदै हुन्छ,' उनले भने । 

महामन्त्री शशांक कोइराला भने वर्तमान राजनीतिक विषयमा मौन रहे । बुधबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भने कोइरालाले कांग्रेस दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका थिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully