चीनबाट खोप ल्याउन किन चाहँदैन सरकार ? 

चीन कोरोना भाइरस संक्रमण रोक्न नेपाललाई सहयोग गर्न चाहिरहेको छ । तर नेपाल सरकारले सहयोगका लागि पूर्ण रुपमा सन्देश नदिएसम्म सहयोग गर्ने अवस्थामा चीन छैन ।

जेष्ठ ३, २०७८

जगदीश्वर पाण्डे

काठमाडौँ — बेइजिङमा वैशाख २४ गते चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ । चीनले सक्दो सहयोग गर्नेछ ।’

वैशाख २३ गते बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको टोलीले चीनको परराष्ट्र मन्त्रालय अन्तर्गतका सहयोग प्रस्तावहरु हेर्ने निकाय चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी (सिड्का) का पदाधिकारी र खोप उत्पादक सिनोफार्मका अधिकारीहरुसँग भेटेर नेपालमा महामारी नियन्त्रणमा चिनियाँ सहयोगको लागि खोप र अक्सिजन सिलिन्डर सहयोग गर्न आग्रह गरेका थिए ।

चिनियाँ पक्षले नेपाललाई २० लाख सिनोफार्मको भेरोसेल खोप उपलब्ध गराउनसक्ने प्रतिबद्धता दिएको बेइजिङस्थित दुतावासका उपप्रमुख सुशील लम्सालले बताए । एक साताअघि बेइजिङले परराष्ट्र मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयमा पत्र पठाइसकेको छ । तर मन्त्रालयले अहिलेसम्म निर्णय लिन सकेको छैन ।

वैशाख दोस्रो साता चीन र दक्षिण एसियाका नेपालसहित पाँच मुलुकहरु पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँगको भिडियो कन्फरेन्समा पनि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले सुरुदेखि कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सहयोग गरेको उल्लेख गर्दै थप सहयोग गर्न चीन तयार रहेको प्रतिबद्धता गरेका थिए ।

चिनियाँहरुका पछिल्ला प्रतिबद्धताहरुबाट स्पष्ट हुन्छ, चीन कोरोना भाइरस संक्रमण रोक्न नेपाललाई सहयोग गर्न चाहिरहेको छ । तर नेपाल सरकारले सहयोगको लागि पूर्णरुपमा सन्देश नदिएसम्म सहयोग गर्ने अवस्थामा चीन छैन । चीनले केपी शर्मा ओली सरकारले पूर्णरुपमा सहयोग आह्वान नगरेसम्म अन्य सामान्य सहयोग नै गरिरहने देखिन्छ । 

कोरोना भाइरस संक्रमणका कारण नेपालमा अहिले दैनिक औसत ५० जनाको दरले ज्यान गुमाइरहेका छन् । त्यसैले कोरोनाविरुद्ध लड्न नेपाललाई यतिखेर चाहिएकै खोप हो । जुन नेपाल सरकारले चीनलाई आधिकारिक रुपमा पत्र लेखेर वा मन्त्रिपरिषद्बाट निर्णय गरेर माग्न सक्थ्यो । तर ओली सरकारले त्यसमा जोड दिएको छैन । चीनले यसअघि अनुदानको रुपमा नेपाललाई ८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ ।

सिनोफार्मको भेरोसेल खोपलाई शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आपत्कालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । नेपालमा औषधि व्यवस्था विभागबाट उक्त खोपले फागुन ५ गते आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । 

चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सामाजिक सञ्जालमार्फत् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई चीनसँग अक्सिजन र भ्याक्सिनसहितका अत्यावश्यक सामग्रीहरुका लागि पहल गर्न आग्रह गरेका छन् । चीन नेपाललाई सहयोग गर्न चाहिरहेको पौड्यालले उल्लेख गरेका छन् । त्यसलाई मध्यनजर गरेर पूर्वराजदूत पौड्यालले मन्त्री ज्ञवालीलाई पहलका लागि आग्रह गरेका हुन् ।

तर खोप आयातका लागि ओली सरकारको नजर भने भारततिरै फर्केको देखिन्छ । सरकारले विदेशस्थित आफ्ना राजदूतावासहरुलाई सहयोग जुटाउन निर्देशन दिइसकेको छ । परराष्ट्र मन्त्री ज्ञवालीले आफ्ना राजदुतहरुसँग शनिबार भिडियो कन्फरेन्स गरिसकेका छन् ।

चीनले नेपाललाई खोप दिन्छौं भन्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले काम गर्नुभन्दा अरुलाई देखाएर समयमै खोप ल्याउन आलटाल गरिरहेका छन् । उनी पनि उत्तरभन्दा दक्षिणबाट खोप ल्याउन पाए सहज हुने सोचमा छन् । अहिले कोभिड–१९ को दोस्रो लहरका कारण भारत आफै संकटमा रहेकोले नेपालले भारतको सरकारी कम्पनी सेरम इन्स्टिच्युटबाट खरिद गरिसकेको १० लाख खोप अझै नेपाल कहिले आउने यकिन छैन । दक्षिण आफै समस्यामा परेकोले पनि उत्तरबाटै खोप ल्याउनु पर्छ भन्ने विश्वास त्रिपाठीमा अझै देखिन्न । भारत अन्य मुलुकको मुख ताकिरहेको बेला ओली सरकार भने भारततिरै नजर लगाइरहेको छ ।

भारतले नेपाललाई अनुदानमा १० लाख र बिक्रीको पनि १०  लाख गरी २० लाख डोज खोप दिइसकेको छ । अहिले भारत अन्य मुलुकको मुख ताकिरहेको बेलामा ओली सरकार भने भारततिरै नजर लगाइरहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले कान्तिपुरसँग नेपालले भारत संकटमा परेका बेला चीनसहित रुस, बेलायत र अमेरिकासँग पनि कोरोना भाइरसको खोपलाई लिएर छलफल भइरहेको बताएका थिए । ज्ञवालीले उक्त कुरा बताए पनि प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री त्रिपाठीको व्यवहार भने ठीक उल्टो देखिन्छ ।

चीनसँग के कारण पर्‍यो, जसले ओलीलाई टाढा बनायो र अहिले उत्तरतिर फर्केर पनि हेर्न चाहँदैनन् । ओली तीनै प्रधानमन्त्री हुन्, जसले भारतले नेपालमाथि २०७२ सालमा नाकाबन्दी लगाएका बेला चीनसँग व्यापार र पारवहन सम्झौतामा हस्ताक्षर गरेका थिए । तर अहिले अर्को संकट पर्दा ओली चीनतिर मुन्टोसमेत उठाएर हेर्न चाहिरहेको देखिन्न ।

एकवर्ष अघिसम्म ओली र चीनको सम्बन्ध सुमधुर थियो । एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकार छउञ्जेल यसमा कुनै समस्या थिएन । चीनकै सहयोगमा नेपाली कम्युनिस्टहरुबीच एकता भएको मानिन्छ । त्यसपछि प्रधानमन्त्री बन्नुअघि नै ओलीले रसुवामा पुगेर यहींबाट चीनको रेल आउँछ भनेर भाषण गरेका थिए ।

त्यसयता एकपछि अर्को गर्दै चीनसँग ओलीको निकटता अझ बढ्यो । त्यसकै नतिजा थियो, सन् २०१९ को अन्त्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण । तर पछिल्लो एकवर्ष नेकपाको विवादमा आफ्ना विपक्षीहरुलाई चिनियाँले साथ दिएको भन्दै ओली उत्तर छिमेकलाई छाडेर दक्षिण छिमेकको साथ लिन पुगे । त्यसपछि चीन र ओलीको सम्बन्धमा चिसोपना आयो । जुन अहिलेसम्म यथावत देखिन्छ । स्रोतका अनुसार अर्कोतर्फ नेपालको आन्तरिक राजनीतिमा अहिले प्रधानमन्त्री ओली कमजोर भएको र यो बेला भारतलाई बेखुसी पार्न उनी चीनसँग स्वास्थ्य सामग्री र खोपको लागि सहकार्य गर्न चाहँदैनन् ।

नेपाली जनता अहिले कोरोनाका कारण संकटमा हुँदा समेत ओलीले चीनसँग उच्चस्तरीय वार्ताको माध्यमबाट खोप सहयोग गर्न आग्रह गरेका छैनन् । परराष्ट्र मामिला विज्ञ निश्चलनाथ पाण्डे अहिले नेपालको परराष्ट्र नीतिको एकमात्र एजेन्डा विदेशबाट स्वास्थ्य सामग्री र खोप ल्याउनु रहेको मान्छन् । उनले भने, ‘चीनसँग पनि नेपाललाई आवश्यक स्वास्थ्य सामग्री र खोपको लागि विशेष पहल गर्नु आवश्यक छ । अन्य मुलुकसँग पनि नेपालले आवश्यक सहयोगको लागि आफ्नो कुटनीतिक नियोगहरुबाट पहल गर्नु आवश्यक देखिन्छ ।’ उनले अहिले अनुदानमा भए पनि खरिद गरेर भए पनि नेपालले खोप छिटोभन्दा छिटो ल्याउनुपर्ने सुझाव दिए ।

वैशाख २५ गते अमेरिकी टेलिभिजन सीएनएन इन्टरनेशनलाई अन्तर्वार्ता दिंदै नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । अहिले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री र खोप दिनसक्ने चीनलाई छाडेर ओलीले अन्य सबै मुलुकसँग खोप ल्याउने विषयमा सहकार्य गरिरहेका छन् । खोप उत्पादक मुलुकसँग नै नेपालले संकटको बेला सहकार्य गर्न नखोज्नु आश्चर्यको विषय बनेको छ । 

राजनीतिशास्त्रका प्राध्यापक तथा भूराजनीतिका जानकार श्रीधर खत्री चीनसँगको विषयलाई लिएर सरकारभित्र अनुमानमात्र लगाउन सक्ने मान्छन् । तर नेपालले दुवै खोप उत्पादन गर्ने छिमेकीको बीचमा रहेर पनि फाइदा उठाउन नसकेको उनको ठम्याइ छ ।

भारत अहिले आफै संकटमा परेको र अन्य मुलुकबाट सहयोग लिइरहेको अवस्थामा नेपालले चीनबाट सकेसम्म छिटो खोप ल्याउनुपर्ने खत्री उल्लेख गर्छन् । उनले भने, ‘दुई छिमेकी नै खोप उत्पादक भएपछि हामीले त्यसको फाइदा उठान सक्नु पर्छ । खोप ल्याउने सम्बन्धमा सरकारका संयन्त्रहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ । यसमा परराष्ट्र मन्त्री अघि बढेर काम गर्दा हुन्थ्यो ।’ उनले कोरोना भाइरस नियन्त्रको लागि सरकारी संयन्त्रहरुले काम गर्नुपर्ने उल्लेख गरे । उनले थपे, ‘नेपालीहरुको अन्तिम समयमा काम गर्ने बानी यसमा पनि रहेको देखिन्छ, जुन यसपटक भारी पर्ने देखिन्छ ।’

सरकारी स्रोतका अनुसार चीनले नेपाललाई थप अनुदान खोप दिने र त्यसबाट अपुग खोप सहुलियतमा उपलब्ध गराउनसक्ने जनाएको छ । तर सरकारले पहिलो लटमा चीनले अनुदानमा ८ लाख खोप दिंदा पनि नेपालमा आपत्कालीन प्रयोग गर्न स्वीकृति दिँदा समय लगाएर अन्य सहकार्यमा समेत चासो नदिइ ढिलाइ गरेको थियो । नेपालको उच्च तहबाट प्रोएक्टिभ भूमिका नदेखिंदा चिनियाँहरुले नेपाललाई थप खोप दिन तत्परता देखाएनन् । 

स्रोतका अनुसार यदि चीनले चाहेको भए, अहिले नेपाललाई उसले दिएको ३५ सय अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्रीहरु आफ्नै कार्गो विमानमा हालेर नेपाल ल्याइदिन्थ्यो । तर अहिले नेपालले आफ्नै ढुवानीमा उक्त सामग्री ल्याउनु परेको छ । नेपालसँग कार्गो विमान छैन । नेपालमा भएका अन्य विमानमा ल्याउँदा धेरै समय लाग्ने छ । 

कोरोना खोपकोरोना भाइरस

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully