नेपालीको प्रतिरोधात्मक क्षमता बलियो भएकाले यस रुपमा कोभिड बढ्छ भन्‍ने ठानेको थिइनँ : प्रधानमन्त्री ओली - समाचार - कान्तिपुर समाचार

नेपालीको प्रतिरोधात्मक क्षमता बलियो भएकाले यस रुपमा कोभिड बढ्छ भन्‍ने ठानेको थिइनँ : प्रधानमन्त्री ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको जसरी कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् । सर्वपक्षीय भेलालाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा प्रधानमन्त्री केपी शर्मा ‌ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

'यस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो,' प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कोरोनाको दोस्रो लहर चलिरहेको नेपालमा दैनिक करिब ९ हजार व्यक्तिमा संक्रमण देखा परिरहेको छ । पछिल्लो समय दैनिक २ सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । कतिपयले अक्सिजन पाउन नसकेर ज्यान गुमाउनुपरेको छ ।

यस्तो अवस्थातर्फ इंगित गर्दै प्रधानमन्त्रीले कोरोनाले नेपालमा यस तहको प्रभाव पार्ने आफूले नठानेको बताएका हुन् । उनले गत वर्ष कोरोनाको पहिलो लहर चल्दा संसद्‌देखि सार्वजनिक मन्तव्यमा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले धेरै प्रभाव नपर्ने दाबी गर्दै आएका थिए । त्यस्तै, बेसार पानी, अम्बाको पात उमालेर 'गार्गल' गर्दा कोरोना निको हुन्छ भन्ने भनाइ उनले पटक पटक दोहोर्‍याएका थिए । उनले नेपालीले हिमालबाट बग्ने जडिबुटी पखालेर आएको ‍औषधीय गुण भएको पानी पिउने भएकाले पनि कोरोनाले प्रभाव नपार्ने मन्तव्य संसद्मा नै दिएका थिए ।

अहिले आएर प्रधानमन्त्री ओलीले कोरोनाले यसरी प्रभाव पार्ला भन्ने आफूलाई नलागेको अभिव्यक्ति दिएका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनुमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु नै रहेको ओलीले दोहोर्‍याएका छन् । 'जति मान्छे निको भएका छन् त्यसमा पनि इम्युन सिस्टमको भूमिका छ,' उनले भने ।

कोरोना संक्रमण नियन्त्रणमा विभिन्न सरकारी निकायबीच समन्वयको अभाव देखिएको प्रधानमन्त्री ओलीले स्वीकारेका छन् । आगामी दिनमा त्यसमा सुधार गरिने पनि उनले बताएका छन् । 'सरकारको तर्फबाट कोअर्डिनेसनको अभाव देखियो । त्यसकारण कोअर्डिनेसनको प्रभावकारी व्यवस्था गरिनेछ । कुनै पनि क्षेत्रमा कोअर्डिनेसन गरिनेछ,' उनले भने ।

पछिल्लो समय कोरोना संक्रमितलाई अक्सिजन पुर्‍याउन समस्या रहेको ओलीले बताए । 'यतिबेलाको सबैभन्दा जल्दोबल्दो समस्या अक्सिजनको देखिएको छ । अक्सिजन पर्याप्त मात्रामा उत्पादन या आयात गर्नुपर्छ । जसरी हो गर्नुपर्छ । सबै प्लान्टलाई म्याक्सिमम क्षमतामा सुचारु गर्नुपर्छ,' ओलीले भने ।

नेपालमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र बाँकी आयात गर्नुपर्ने ओलीको भनाइ थियो ।

भिडियोः

प्रकाशित : जेष्ठ २, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीमा थप १० जनाको कोरोनाबाट मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — गुल्मीमा थप १० जना कोरोना संक्रमितको ज्यान गएको छ ।

आइतबार इस्मा गाउँपालिका–३ का ८१ वर्षीय पुरुष, धुर्काेट गाउँपालिका–२ का ५२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । रेसुङा नगरपालिका–१२ का २७ वर्षीय पुरुष र रेसुङा–७ का ६४ वर्षीय पुरुषको ज्यान गएको छ । रेसुङा–१२ का पुरुषको तम्घास अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सत्यवतीका पुरुषको होम आइसोलेसनमा ज्यान गएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी गोपाल कार्कीले बताए ।

त्यस्तै शनिबार कालीगण्डकी गाउँपालिका–५ का ५१ वर्षीय पुरुष, रेसुङा नगरपालिका–१ की ६६ वर्षीया महिला, वडा–२ की ७५ वर्षीय महिला, सत्यवती गाउँपालिका–७ का ८० वर्षीय पुरुषको ज्यान गएको छ ।

तम्घास अस्पतालमा १८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ २, २०७८ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×