३,५०० मिटर उचाइमाथिका बस्तीसम्म संक्रमण, एक महिनामै मनाङमा ४१ संक्रमित, मुस्ताङमा एकको मृत्यु
लमजुङ, म्याग्दी — वैशाख तेस्रो साता मनाङ सदरमुकाम चामेस्थित एक बैंकमा कार्यरत २ कर्मचारी पोखराबाट आए । स्वास्थ्यमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण देखियो ।
उनीहरूसँग नजिक रहेकासँगको ट्रेसिङबाट केही स्थानीयमा कोरोना संक्रमण देखियो । त्यतिबेलासम्म काठमाडौं, पोखरा, चितवनलगायतमा कोरोनाको दोस्रो भेरियन्टको लहर देखिइसकिएको थियो । घर जानेआउने क्रममा कर्मचारी, शिक्षक मनाङ आएपछि केहीलाई कोरोना देखियो । कन्ट्याक्ट ट्रेसिङमा परेका केहीमा पनि कोरोना पोजिटिभ देखियो ।
जाडो छल्न काठमाडौं पुगेका स्थानीयले गाउँ फर्कंदा कोरोना पनि सँगै लिएर आएको देखियो । त्यतिमात्र नभएर मनाङ घुम्न आएका विदेशीमा समेत कोरोनाको लक्षण देखिएको छ । प्रायः सबै होम आइसोलेसनमा छन् । जनप्रतिनिधिसमेत संक्रमित छन् । समुद्री सतहदेखि ३ हजार ५ सय मिटर उचाइ माथिका मनाङको बस्तीसम्म संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार समुदायमा कोरोना फैलिएको छ । केही दिनअघि बिरामी भएपछि मनाङ ङिस्याङ गाउँपालिका–४ का ८४ वर्षीय वृद्धलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । बुधबार मात्रै सोही गाउँपालिकाका ६० र ५५ वर्षका दम्पतीलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ । ‘कतिपयको ट्राभल हिस्ट्री छैन । गाउँठाउँमा कोरोना संक्रमितबाट सरेको हुन सक्छ,’ आचार्यले भने । एकै दिन २८ जनामा संक्रमण देखिएको थियो ।
एक महिनामा मनाङमा मात्रै ४१ संक्रमित भएका छन् । गत एक वर्षमा २१ मात्रै थिए । जिल्ला अस्पताल मनाङका निमित्त मेसु डा.प्रतिभा गौलीका अनुसार यस वर्ष कोरोना मनाङमा चढ्ने क्रममा छ । उपचारमा आएका बिरामीमा कोरोना देखिएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको र डाक्टरसहितका कर्मचारी आइसोलेसनमा छन् । गतवर्ष बाहिरी जिल्लाबाट मनाङ प्रवेशमा कडाइ गरिएको थियो । यस वर्ष काठमाडौंमा निषेधाज्ञा गरिसक्दासमेत आवतजावत खुला थियो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार गतवर्षको दोब्बर यस वर्ष १ महिनामै भयो । ‘आवतजावत रोक्ने कुरा भएन । बढी संक्रमित ठाउँबाट आएका र ट्रेसिङमा कोरोना देखियो । कोरोना हिमालसम्मै चढ्यो,’ उनले भने ।
उनका अनुसार नेदरल्यान्डका नागरिक ३९ वर्षीय पुरुषसमेत कोरोना संक्रमित छन् । उनी माथिल्लो मनाङ गाउँको एक होटलमा छन् । ‘पोहोर माथिल्लो क्षेत्रमा केही शिक्षकबाहेकलाई कोरोना देखिएको थिएन । अहिले स्थानीयमै देखियो,’ उनले भने, ‘जिल्ला अस्पतालमा ३ जना उपचार गराइरहेका छन् । १ पोजिटिभ हुन् । २ को लक्षण मिल्दोजुल्दो छ ।
मुस्ताङमा पनि फैलिँदै
यसैगरी हिमालपारिको मुस्ताङमा पनि कोरोना संक्रमण समुदायमा फैलिन थालेको छ । स्वास्थ्य कार्यालय मुस्ताङकी कोभिड फोकल पर्सन शुभद्रा दुलालका अनुसार घरपझोङ्ग गाउँपालिकामा ४१, थासाङ् गापामा २० र वाहृगाउँ मुक्तिक्षेत्र गापामा २६ सहित ८७ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितमध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ८ जनालाई थप उपचारका हेलिकप्टरबाट पोखरा पुर्याइएको छ । बाँकी होम आइसोलेसनमा रहेको दुलालले बताइन् । मुस्ताङमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लामा एउटा मात्र कोभिड अस्पतालमा ८ बेड क्षमताको आइसोलेसन छ । सबै बेडसम्म प्लान्टबाट अक्सिजन पाइप पुर्याइएको छ । कोभिड अस्पतालका डा.केबिन पौडेलका अनुसार अस्पतालमा प्लान्टबाट पाइपलाइन कोभिड उपचार कक्षका सबै बेड तथा जनरल बेडसम्म जोडिएको भए पनि अक्सिजन आपूर्ति भने विद्युत् नियमिततामा निर्भर रहन्छ । पौडेलका अनुसार अस्पतालमा हाल १८ ठूला अक्सिजन सिलिन्डर र कन्सल्ट्रेटर मेसिनलाई वैकल्पिक प्रयोगका लागि राखिएको छ ।
यसैबीच कोरोना संक्रमण समुदायमा फैलने क्रम बढेपछि कोरोना संकट व्यवस्थापन केन्द्रले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी ७ दिनका लागि मुस्ताङभर अत्यावश्यक सेवाबाहेक सबै बन्द रहने गरी लकडाउन जारी गरेको छ ।
