वीरगन्ज — कोरोना संक्रमित एक स्वास्थ्यकर्मीले वीरगन्जमा भेन्टिलेटर नपाएरै ज्यान गुमाएका छन् । रौतहटको वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवाका २३ वर्षीय रवि यादवको बिहीबार वीरगन्जको तराई अस्पतालमा मृत्यु भएको हो ।
उनी पेसाले हेल्थ असिस्टेन्ट थिए । भाइ ब्रजकिशोर यादवका अनुसार रवि वीरगन्जकै एक अस्पतालमा कार्यरत थिए ।
जेठ ९ गतेका लागि विवाह तय भएपछि रवि घर गएका थिए । त्यहाँ उनलाई ज्वरो आएर संक्रमण पुष्टि भएपछि वीरगन्जको तराई अस्पतालमा वैशाख २२ गते भर्ना भएका थिए । ‘२ महिनायता उनी वीरगन्जकै कुनै अस्पतालमा काम गर्दै आउनुभएको थियो, हामीलाई त्यो अस्पतालको नाम बताएनन्,’ ब्रजकिशोरले भने, ‘विवाह तय भएपछि घर पुग्नु भएको थियो ।’
आइतबारदेखि तराई अस्पतालका चिकित्सकले रविलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएका थिए । सोही अस्पतालमा भने भेन्टिलेटर खाली थिएन । आफन्तले लगातार चार दिनदेखि वीरगन्जका सबै अस्पताल चहारे र गुहारे तर भेन्टिलेटर पाएनन् । लामो प्रयासपछि नारायणी अस्पतालमा भेन्टिलेटर पाएपछि बिहीबार बिहान रविलाई त्यहाँ लैजाने तयारी थियो । ‘तर बिहान ४ बजेतिरै दाइले तराई अस्पतालमै प्राण त्याग्नुभयो,’ भाइले भने ।
अस्पतालका इन्टरनल मेडिसिन विभाग प्रमुख एमडी डाक्टर रोशन कुर्मीले भने मृतकका आफन्तजनले दाबी गरे जस्तो रविले आफ्नो अस्पतालमा भेन्टिलेटर नै नपाएर ज्यान नगुमाएको दाबी गरे । ‘हामीले बुधबार साँझ करिब ७ बजे उनलाई भेन्टिलेटरमा राखेका थियौं, गम्भीर संक्रमित र निमोनियाले फोक्सो पनि अत्यन्त खराब भइसकेकाले हामीले बचाउन सकेनौं,’ डा कुर्मीले भने । रविको शरीरमा अक्सिजनको मात्र अत्यन्त कम भइसकेको र त्यो उभो नलागेको डा. कुर्मीले बताए ।
