कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतमा सातामा २ दिनबाहेक सबै अन्तर्राष्ट्रिय व्यावसायिक उडान वैशाख २३ गते रातिदेखि बन्द

आन्तरिक उडान सोमबार रातिदेखि नै बन्द
सुरज कुँवर

काठमाडौँ — सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

भारतमा सातामा २ दिनबाहेक सबै अन्तर्राष्ट्रिय व्यावसायिक उडान वैशाख २३ गते रातिदेखि बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा यसबारे सोमबार दिउँसो थप प्रस्ट पारेको हो । आइतबार साँझ मन्त्रिपरिषद् बैठक सकिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ गते रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको सुनाएका थिए ।

कान्तिपुरसँग कुरा गर्दै मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाली समयअनुसार, २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यनवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको बताए ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाको प्रमुखसमेत रहेका सहसचिव लामिछानेले हाल नेपाल र भारतबीच भइरहेको एयर बबल अवधारणाअनुसारको उडानलाई हप्ताको ७ दिनबाट घटाएर दुई दिनमा झारिएको बताए ।

‘भारतसँग थप कडाइका साथ सातामा दुई दिन उडान भने हुने छ,’ सहसचिव लामिछानेले भने, ‘अरु देशका लागि हुने उडान भने वैशाख मसान्तसम्मलाई बन्द गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमा भएको जानकारी आएको छ ।’

उनले हाल देखिएको कोरोना महामारीको चेन ब्रेक गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान धेरै लामो समय बन्द नहुने पनि बताए । ‘यो धेरै लामो समय जाँदैन । त्यसैले तत्काललाई भारतबाहेकका सबै मुलुकमा भइरहेका उडान तत्काल बन्द गर्ने निर्णय भएको हो । अब पहिले जस्तो उद्धार तथा चार्टर उडान पनि हुने छैनन्,’ उनले भने ।

त्यस्तै आन्तरिक उडान सोमबार रातिदेखि बन्द हुने भएका छन् । आन्तरिक रुटमा भने आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले हवाइ उडानसम्बन्धी गरेको पाँच बुँदे निर्णय :


१. मिति २०७८ वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म नियमित आन्तरिक हवाइ उडान स्थगन गर्ने।

२. मिति २०७४ वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन गर्ने।

३. स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधा अन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुई वटामा सीमित गर्ने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने। होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने । कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उयडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने ।

४. आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने ।

५. चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गर्ने ।

प्रकाशित : वैशाख २०, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?