काँकडभिट्टामा होल्डिङ सेन्टर तयार

वैशाख २०, २०७८

पर्वत पाेर्तेल

काँकडभिट्टा — पूर्वी नाका काँकडभिट्टामा नेपाली सेनाले होल्डिङ सेन्टर तयार गरेको छ । त्रिपाल टाँगेर अस्थायी होल्डिङ सेन्टर खडा गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

सरकारले देशभरका आठ नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने घोषणा गरेको थियो । तर, समयमै बजेट नआउँदा निर्माणमा अलमल देखिएको छ । ‘हामीले बजेट पर्खिएनौं, त्रिपाल टाँगेरै सुरु गर्‍यौँ,’ प्रजिअ तिम्सिनाले भने ।

होल्डिङ सेन्टरका लागि त्रिपाल रेडक्रस सोसाइटी झापाले उपलब्ध गराएको छ । काँकडभिट्टा माविको मैदानको आधा भाग ओगटेर घेराबेरा गरी सेनाले होल्डिङ सेन्टर खडा गरेको हो । अघिल्लो वर्ष स्कुलमा होल्डिङ सेन्टर राखेको भन्दै सरोकारवालाले विरोध जनाएका थिए । उपयुक्त स्थान अभावका कारण पुन: स्कुलकै मैदानमा राखिएको प्रशासनको भनाइ छ ।

नेपाल–भारत सीमा नाकाको करिब ५ सय मिटर क्षेत्रमा होल्डिङ सेन्टर राखिएको छ । यसको व्यवस्थापनको नेतृत्व सेनाको नयाँ श्रीनाथ गणले गर्नेछ । भारतबाट आएका नेपालीहरूको स्वास्थ्य परीक्षणलगायतका काम होल्डिङ सेन्टरमा नै हुने सेनाका क्याप्टेन विजय निरौलाले जनाए । उनका अनुसार होल्डिङबाटै कोरोना संक्रमितको पहिचान गरेर सम्बन्धित जिल्ला या क्षेत्रमा पठाइनेछ । ‘भारतबाट घर फिरेका नेपालीलाई यहाँ राखेर स्वास्थ्य परीक्षण गरिन्छ । स्वस्थ भए मात्रै घर जान दिइनेछ,’ उनले भने ।

भारतसँगका नाकाहरू काँकडभिट्टा, रानी, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, गौरीफन्टा र गड्डाचौकीमा सरकारले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले १ हजार जना क्षमताको होल्डिङ सेन्टर सेनाले बनाउने र अर्थ मन्त्रालयले बजेट निकासा दिने बताए । उनका अनुसार देशैभर एकै डिजाइनको होल्डिङ बनाइने भएकाले डिजाइनलगायतका प्राविधिक कामसमेत भइरहेको छ ।

गत वर्ष पनि काँकडभिट्टाको स्कुल मैदानमै बनाइएको होल्डिङ सेन्टर पठनपाठन सुरु भएपछि हटाइएको थियो । हाल मेची पुलमै तीनवटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर छ । ‘तर त्यहाँ भारतबाट आएकाहरूलाई राख्न मिल्दैन । उनीहरूको एन्टिजेन जाँच्नसम्म मात्रै मिल्छ’, नाकामा खटिएका सशस्त्र प्रहरीका सई नारायण गौतमले भने ।

कोरोना भाइरस

पर्वत

Link copied successfully