लमजुङ — दूधपोखरी गाउँपालिका–२, बिचौरमा एकै टोलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेंसीसहरका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
बिचौरका ६ जना नै साविक वडा ४ का हुन् । १० वर्षीय स्कुले बालकदेखि ७१ वर्षीय वृद्धसमेत संक्रमित छन् । संक्रमित सबै पुरुष हुन् । वडाध्यक्ष गोविन्द दवाडीका अनुसार उनीहरू सबै घरमै बसिरहेका छन् । रुघाखोकीजस्ता सामान्य लक्षणबाहेक अरू लक्षण नदेखिएकाले घरमै जोगिएर बसेको उनले बताए । ‘खासै लक्षण छैन । गाह्रो हुने स्थिति भएमा हाम्रो यहाँ एम्बुलेन्स तयारी अवस्थामा छ,’ उनले भने ।
संक्रमितमध्ये १० वर्षीय बालक बिचौरस्थित बागिश्वरी माविका विद्यार्थी र अर्का एक शिक्षक हुन् । बिहीबार बिचौरका ९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाएकोमा ६ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । दूधपोखरीले आइतबारदेखि एक सातासम्म गाउँपालिका, शाखा तथा वडा कार्यालयबाट दिइने अत्यावश्यकबाहेक सेवामा रोक लगाएको छ । पठनपाठन वैकल्पिक माध्यमबाट गर्न निर्देशन गरेको छ ।
आइतबार नै बेंसीसहर–८ की २९ वर्षीया महिला र बेंसीसहर–६ की ७० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू पनि घरमै बसेका दवाडीले बताए । राइनास नगरपालिका–७ की ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट काठमाडौंमा उपचारका क्रममा शुक्रबार निधन भएको छ ।
