बागलुङ — प्रदेश राजधानी पोखरामा केही सरकारी काम सकेर फर्केपछि टाउको दुख्यो । सामान्य मौसमी फ्लु भन्ने ठानेर औषधि खाँदै घरमा बस्दा साता दिनमा उनी सिकिस्त भए ।
काठेखोला गाउँपालिका–२ भीमापोखराका ४६ वर्षीय खिमबहादुर कार्कीको स्वास्थ्य अवस्था देखेर धौलागिरि अस्पतालले पीसीआर रिपोर्ट नआउँदै आइसोलेसनमा राख्यो । कोरोना संक्रमण पुष्टि भएको २३ दिन आइसोलेसन र ५ दिन आईसीयू बसेपछि मात्रै कार्की बाँच्न सफल भए । अस्पतालबाट फर्केपछिको ३० दिन उनले घरमा पनि अक्सिजनको सहायता लिनुपर्यो ।
कार्कीको अस्पताल बसाइ निकै कष्टकर रह्यो । अक्सिजनको कमी भएकाले चौबिसै घण्टा विद्युत् जडान भएको ‘वाइपास मास्क’ लगाउनुपर्थ्यो । खाना पनि अर्काले खुवाइदिनुपर्थ्यो । शौचसमेत गर्न नसकेपछि आईसीयू र आइसोलेसनमा कार्कीका छोरा अर्जुनले स्याहारे । मापदण्डअनुसार आइसोलेसनमा कोही जान मिल्थेन तर अर्जुनलाई बाध्यता पर्यो । अर्जुनको स्याहारकै कारण कार्की बाँच्न सफल भए । ‘छोराको सहायता नपाएको भए के हुन्थ्यो हुन्थ्यो’, कार्कीले भने ।
अर्जुनले बाबुको स्याहारमा आइसोलेसनमा १६ दिनरात बिताए । बुबा स्याहार्ने क्रममा उनी आफैं संक्रमित भएपछि होमआइसोलेसन बसेर निको भएका छन् ।
गत पुस २२ देखि आइसोलेसन बसेका तीन जनामध्ये दुई जनाले धौलागिरि अस्पतालमै ज्यान गुमाए । बेलाबेला अन्य दुई जनाको स्याहार गरे पनि आफन्त भएझैं उनीहरूको आशा पलाउन नसकेको चिकित्सक नै बताउँछन् । ‘छोराले स्याहार गरेपछि बिरामीले खाना खाने, समयमा अक्सिजन दिने र शौचालय पठाउने काम भयो,’ नर्स इन्चार्ज शान्ति खड्काले भनिन्, ‘एक्लो महसुस गर्ने र खाना नखानेहरू बढी कमजोर भए ।’ मापदण्डअनुसार उपचार गराए पनि आफन्त बसेझैं नभएको उनले सुनाइन् ।
