पाल्पा — पछिल्लो १२ घण्टामा पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार बेलुकी सवा ४ बजे ७८ वर्षीय पुरुषको मृत्यु भएको थियो भने मिसन अस्पतालबाट उपचार गरेर फर्किएका ७२ वर्षीय पुरुषको सोमबार राति १२ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
७८ वर्षीय पुरुष रम्भा गाउँपालिका–३, पिपलडाँडाका हुने भने ७२ वर्षीय पुरुष रामपुर नगरपालिका–१० गेझाका हुन् । तानसेनस्थित मिसन अस्पतालमा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घरमा पठाएको थियो ।
पिपलडाँडाका मृतकको शव राम्दी घाट लगेर छोराले नै व्यवस्थापन गरेका थिए । गेझाका मृतकको शव व्यवस्थापनका लागि सेनालाई अनुरोध गरिए पनि उनीहरु नगएपछि छोराहरुले नै व्यवस्थापन गरेका छन् । रामपुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष लीलाबहादुर गाहाका अनुसार स्वास्थ्य चौकी प्रमुख विक्रम भण्डारी र सबै राजनीतिक दलको बैठकपछि मृतकका तीन जना छोराले आँधीघाटमा लगेर शव व्यवस्थापन गरेका हुन् ।
जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
