संक्रमित बढेपछि धनुषामा मंगलबारदेखि निषेधाज्ञा

आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गर्न निर्देशन

वैशाख २०, २०७८

कान्तिपुर संवाददाता

धनुषा — जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले धनुषामा मंगलबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रको बैठकले मंगलबारदेखि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले बताए ।

उनका अनुसार ३/४ दिनयता लक्षणसहितका संक्रमित बढेको, अस्पतालमा बिरामीको चाप बढेका कारण निषेधाज्ञा लगाउन लागिएको हो । 

उनका अनुसार वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । धनुषामा शनिबारसम्म ४ सय २० जना संक्रमित पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । केन्द्रले संक्रमितहरूमा स्वास्थ्य समस्या जटिल बन्दै गएकोले जनकपुरधाम प्रादेशिक अस्पताललाई थप स्रोतसाधन व्यवस्था गरी पुर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिरामिको चाप बढदै गएकाले प्रादेशिक अस्पतालले मात्रै धान्न नसक्ने भएकोले जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई कोभिड अस्पतालको रूपमा सञ्चालन गर्न र अघिल्लो पटक आइसोलेसनका रूपमा प्रयोग भएको बेडसहितको स्वास्थ्य सामग्री र पूर्वाधारलाई समेत तयारी गरी सपहीस्थित सीटीईभीटीको भवन, जानकी मेडिकल कलेज अस्पताल, गंगुलीस्थित आयुर्वेद कलेज भवनलाई प्रयोगमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई केन्द्रले अनुरोध गरेको छ । 

प्रजिअ बाँस्तोलाका अनुसार प्रदेश सरकारले १५ दिनभित्र मणिपालको निर्माणाधीन भवनमा १ सय बेडको कोभिड अस्पताल बनाउने तयारी गरेको छ । जानकी मेडिकल कलेजको अस्पताल र आयुर्वेद कलेजको भवन विकल्पको रूपमा तयारी अवस्थामा राख्ने गरी काम थाल्ने बाँस्तोलाले बताए ।

केन्द्रले अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या बढदै गएकाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई अक्सिजनको स्टक बढाउने र स्थानीय तहले न्युनतम २०/२० वटाका दरले अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्नुपर्ने निर्णय गरेको छ । बैठकले जिल्लाभित्र रहेका अक्सिजन उत्पादक तथा बिक्रेतालाई आफ्नो उत्पादन र स्टक बढाउन सुझाव दिएको छ ।

व्यक्तिगत रूपमा अक्सिजन खरिद गरी घरमा राख्ने गरेको पाइएकोले आपूर्तिकर्तालाई व्यक्तिलाई बिक्री नगर्न निर्देशन दिइएको छ । अक्सिजनको माग बढेको तर आपूर्तिकर्ता तथा स्वास्थ्य संस्थासँग अभाव देखिएकाले थप अक्सिजन सिलिन्डर उपलब्ध गराउन प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलाई केन्द्रले आग्रह गरेको छ ।

बैठकले सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन गरी स्वाब संकलन, होम आइसोलेसनमा बसेका संक्रमितको अनुगमन, उपचार व्यवस्था, एम्बुलेन्स र शववाहनको व्यवस्थापन उच्च प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully