प्रदेश १ मा आइतबार थपिए ४१७ संक्रमित

वैशाख २०, २०७८

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा आइतबार ९ सय ७८ को परीक्षण गरिँदा ४ सय १७ जना संक्रमित देखिएका छन् । जुन ४२.६४ प्रतिशत पोजिटिभिटी दर हो । योसँगै प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ७ सय ६९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा थपिएकामध्ये २ सय ६२ अर्थात् ६२.८३ प्रतिशत मोरङको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यीमध्ये पनि २ सय (झन्डै ४८ प्रतिशत) विराटनगरका हुन् । 

हाल संक्रमित भएकामध्ये १ हजार ४ सय ६० मोरङका, ५ सय ५ सुनसरीका र ४ सय ४७ झापाका भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार दुई महिला र तीन पुरुषको मृत्यु भएको छ । तीमध्ये दुई मोरङको, दुई सुनसरीको र एक ताप्लेजुङको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार हाल संक्रमितमध्ये २ हजार ५ सय ७८ होम आइसोलेसनमा र १ सय ९१ संस्थागत आइलोसनमा छन् । संस्थागत आइलेसनमा रहेकामध्ये ६५ जनाको आईसीयूमा र १४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले भनेको छ । आईसीयू र भेन्टिलेटरमा संक्रमितको चाप दिनहुँ बढिरहेको छ ।

शनिबारसम्म संस्थागत आइलोसनमा रहेका १ सय ७२ संक्रमितमध्ये ४६ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितका लागि ७६ बेड आईसीयू, ४७ भेन्टिलेटर, ३३ एचडीयू (हाई डिपेन्डेन्सी युनिट) र जनरल गरी ३ सय ९५ बेडको व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully