२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

देउवा भन्छन्- यो सरकार न विगतका गल्तीबाट सिक्छ न सल्लाह र सुझाव आत्मसात गर्छ

'सरकारले बेलैमा ठोस कदम नचालेकाले दोस्रोपटक लकडाउन गर्नुपर्‍यो'
'पीसीआर नगरी उपत्यका बाहिर जान दिएकाले कम संक्रमित भएका जिल्लामा झन् धेरै संक्रमित पुगे'

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा विगतका गल्तीबाट पाठ नसिकेको र कसैका सल्लाह पनि नमानेको बताएका छन् । 

देउवा भन्छन्- यो सरकार न विगतका गल्तीबाट सिक्छ न सल्लाह र सुझाव आत्मसात गर्छ

शुक्रबार पत्रकार सम्मेलन गरेर देउवाले कोरोनाका कारण मुलुकमा वर्तमान विषम परिस्थिति आउनुमा सरकार जिम्मेवार रहेको बताएका छन् । 'यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमण्यता जिम्मेवार छ । यो सरकार न विगतका गल्तीहरूबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ,' उनले भने ।

कोरोनाको दोस्रो चरणले मुलुकमा महामारी ल्याएको देउवाको भनाइ छ । उनले पीसीआर परीक्षण न्यून हुँदा पनि उच्च संख्यामा कोरोना संक्रमित भेटिइरहेको भन्दै सरकारलाई सचेत गराएका छन् । 'अत्यन्त कम संख्यामा पीसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमण सँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ,' उनले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमण रोक्न कुनै ठोस कदम नचालेका कारण दोस्रोपटक लकडाउन गर्ने स्थिति आइपुगेको देउवाको भनाइ थियो । 'अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ,' उनले भने ।

उपत्यकालगायत ठूला सहरहरूमा सरकारले लकडाउन गरेर लाखौं मान्छेलाई परीक्षण नै नगरी गाउँ फर्काएको भन्दै संक्रमण अझै बढ्ने देउवाको भनाइ छ । 'सरकारले काठमाडौं उपत्यकालगायतका ठाउँहरुमा १५ दिने निषेधाज्ञा लगाउने निर्णय गरेपछि कोभिड-१९ परिक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरूमा पुगेका छन् । सरकारको यस्तो निर्णयले संक्रमण कम भएका ठाउँहरूमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको छ,' उनले भने ।

प्रकाशित : वैशाख १७, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?