भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना पुष्टि

वैशाख १ यता अस्पतालका ७३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण

वैशाख १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालगन्जस्थित भेरी अस्पतालका पछिल्लो ३६ घण्टामा परीक्षण गरिएका २८८ नमुनामध्ये २३३ मा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालका अनुसार १३९ जना पुरुष र ९४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय पोजिटिभिटी रेट पनि बढिरहेको अस्पतालले जनाएको छ । पछिल्लो समय गरिएको परीक्षणको पोजिटिभिटी रेट ८०.९ % देखिएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये बाँकेका २०८, बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाबाट ८ जना रहेका छन् । पालिकाअनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट मात्र १८२ जनामा संक्रमण पुष्टि  भएको हो । उमेर समूहमा २० वर्षदेखि ५० वर्ष उमेर समूहका मात्र १७४ जना छन् जुन कुल संख्याको ७५% हुन आउँछ ।

कोभिड-१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको पनि अस्पतालले जनाएको छ । वैशाख १ गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको छ । 

जसमा महिला ४४ (६०.३%), पुरुष २७ (३९.७%)  रहेका छन् । संक्रमण पुष्टि हुनेमा नर्सिङ कर्मचारीहरु ३३ जना,सहायक कर्मचारी २२ जना,  चिकित्सक ८  जना, प्यारामेडिक्स  ८ जना र प्रशासनका कर्मचारी २ जना रहेका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully