१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई 

काठमाडौँ — नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा दाहाललाई दिइएको बताए ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई 

‘वर्तमान केपी ओलीको नेतृत्वमा रहेको यो सरकारलाई समर्थन नरहेको औपचारिक लिखित जानकारी कहिले दिने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको छ,’ श्रेष्ठले भने । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार कटाक्ष गर्दै आएका छन् । तर एक नेताका अनुसार अविश्वास प्रस्ताव दर्ता नहुँदासम्म माओवादीले समर्थन फिर्ता नलिने भएको हो । अविश्वास प्रस्ताव दर्ताबारे कांग्रेस र जसपासँग संवाद भइरहेको पनि ती नेताले बताए ।

बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षालाई केन्द्रमा राखेर नीति कार्यक्रम अगाडि बढाउने निर्णय गरेको उनले बताए । ‘सिंगो राष्ट्रको एकता, राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रीक शक्तिहरुको एकता, संविधान, लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टको एकतालाई केन्द्रविन्दुमा राखेर सम्पूर्ण नीति, योजना र कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ,’ बैठकपछि नेता श्रेष्ठले भने ।

बैठकमा पार्टी विधान संशोधन कार्यदलले मंगलबार पेस गरेको विधान मस्यौदामाथि नेताहरुले आफ्ना धारणा राखेका थिए । नेताहरुका सुझावलाई समेत ध्यान दिएर पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम मस्यौदाको रुपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने निर्णय गरेको श्रेष्ठले बताए ।

आगामी बैठकमा संगठनात्मक कार्ययोजना र अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । तर, कोभिडका कारण केन्द्रीय कमिटी बैठकको मिति नभएको श्रेष्ठले बताए । उनका अनुसार बैठकले कोभिड–१९ को संक्रमणको विरुद्धको जनचेतना अभियान संचालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

प्रकाशित : वैशाख ८, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?