बाँकेमा बिहीबारदेखि एक साता लकडाउन गर्न सिफारिस - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा बिहीबारदेखि एक साता लकडाउन गर्न सिफारिस 

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले लकडाउनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले बिहीबारदेखि एक साताका लागि  लकडाउन गर्न सिफारिस गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए । ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ ।’

डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताए । कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ ।

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन् । संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ ।

कोरोना संक्रमणको दर र त्यसबाट मृत्युदरसमेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउनका लागि दबाब दिएका थिए । सोमबार भेरी अस्पतालमा मात्र ३७५ जनाको परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा ३९ परीक्षणमा १९ जनामा कोरोना पुष्टि

माधव अर्याल

पाल्पा — पाल्पामा ३९ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका १५ र जिल्लाभित्रका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार र मंगलबार जाँच गर्दा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

तानसेनका ८, रिब्दीकोटका २, बगनासकालीका २, रैनादेवी छहराका ४, पूर्वखोलाका २ र रामपुरका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार संक्रमित सबै होमआइसोलेसनमा छन् ।

भारतबाट आएकालाई नेसनल प्याथ ल्याब बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालको ल्याबमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १७ हजार २७ जनाको कोरोना परीक्षण गर्दा २ हजार ३६ जना संक्रमित भएका थिए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना भाइरसका ५४ जना संक्रमित छन् । जिल्लामा कोरोना भाइरस संक्रमित ३८ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोप मंगलबारबाट लगाउन सुरु भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेका अनुसार दोस्रो डोजको एक हजार ८ सय ९४ जनालाई खोप लगाउने तय भएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १४:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×