नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना

वैशाख ७, २०७८

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।

वडाध्यक्ष प्रमोद रिजालले परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको बताए । ‘कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गर्दै आएको सेवा प्रवाह प्रभावित बनेको छ,’ उनले भने, ‘वडाका सवै कर्मचारीलाई कोरोना लाग्यो, कोरोना झन फैलिन सक्ने भन्दै परिस्थितिअनुकूल नभएसम्मका लागि वडा बन्द गरेका हौँ ।’

वडाध्यक्ष रिजालका अनुसार सोमबार आएको पीसीआर रिपोर्टमा तीन जना र आइतबार आएको रिपोर्टमा तीन जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरु कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायतका कर्मचारी छन्  । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको वडाध्यक्ष रिजालले सुनाए । यसअघि गत वर्ष फैलिएको कोरोना महामारीमा वडाध्यक्ष रिजाललाई पनि कोरोना संक्रमण भएको थियो । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully