एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार

कलेन्द्र सेजुवाल, चाँदनी कठायत

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पार्टी नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसद मत पाएपछि उनको पद जोगिएको छ । विश्वासको मतको लागि २० सांसद आवश्यक थियो ।

प्रदेशसभामा रहेका एमालेका १९ (सभामुखबाहेक) सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गरेका छन् । उनीहरु मधव नेपाल पक्षीय सांसद हुन् । मत विभाजनको आधारमा गरिएको मतदानमा ५ जना विश्वासको मतको पक्षमा उभिएका थिए । राप्रपाकी एक्ली सांसद सोशिला शाहीले भने तटस्थ बस्ने निर्ण लिइन् ।

योसँगै मुख्यमन्त्री शाहीको सरकार तत्कालको लागि जोगिएको छ । केही महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति भएको स्रोतको भनाइ छ । ह्वीप उल्लंघन गर्ने सांसदहरु दलबाट कारबाहीमा परे पनि केही समय मन्त्री हुने उक्त स्रोतले बतायो ।

एमालेले एक महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका थिए । माधव नेपाल समूहका सांसदहरुले संसदीय दलको ह्वीप उल्लंघन गर्ने आकलन गरिएको थियो । शुक्रबार बिहान संसदीय दलका नेता यामलाल कँडेलको घरमा बसेको दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।


प्रकाशित : वैशाख ३, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान हुन्छ : मन्त्री

रासस

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताएका छन् । 

तस्बिर : केशव थापा/कान्तिपुर

नेपाल भारत मैत्री सङ्घद्वारा यहाँ शुक्रबार आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले गरेका सन्धिसम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल र भारत प्रतिस्पर्धी होइनन्, एकअर्काका सहयोगी हुन्, नेपाल भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ, भारतको विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्छ, त्यसैले दुई देशबीचका सबै समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्नेछौँ ।’ मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विस्तार गरी अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

आर्थिक साझेदारी र विकास परियोजनाका कारण पनि दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको बताउँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र अन्तरदेशीय अपराधविरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले छिमेकी भारतसँगको सम्बन्धलाई व्यावहारिक रुपमै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए । सरकारका प्रवक्ता गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । विभिन्न कठिनाइका बीच पनि सरकार राष्ट्र र जनताका निम्ति कटिबद्ध रहेको उनको भनाइ थियो ।

प्रकाशित : वैशाख ३, २०७८ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×