खनाल-नेपाल समूहद्वारा एमालेको काठमाडौं जिल्ला कमिटी घोषणा, अध्यक्षमा मानन्धर- समाचार - कान्तिपुर समाचार

खनाल-नेपाल समूहद्वारा एमालेको काठमाडौं जिल्ला कमिटी घोषणा, अध्यक्षमा मानन्धर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । खनाल-नेपाल समूहले आइतबार वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । 

तस्बिर : अंगद ढकाल, कान्तिपुर

काठमाडौंमा आयोजित जिल्ला कमिटी घोषणा कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो ।

यो समूहको काठमाडौं जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

यो समूहले जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरेको छ ।

एमालेको काठमाडौं जिल्ला अध्यक्ष भने प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णबहादुर राई हुन् । उनी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेका छन् ।

खनाल-नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने यो समूहको निर्णय थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : चैत्र २२, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

चीनले दिएको कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बुधबारदेखि लगाउन सुरु गरिने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड १९ को ब्रिफिङका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त खोप चैत २५ गते बुधबारबाट काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिएका हुन् ।

अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालयपार व्यापार, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्तिहरुले लगाउन सक्ने प्रवक्ता गौतमले प्रस्ट पारे ।

चीनले अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको खोपको ८ लाख डोज चैत १६ गते सोमबार काठमाडौं आइपुगेको थियो ।

चीनले माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको हो ।

यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।

नेपालले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख ७ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।

प्रकाशित : चैत्र २२, २०७७ १७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×