समर्थन फिर्ता लिए राजीनामा : ओली

‘फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जानै सक्दैन’ 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् । बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा उनले राजीनामा माग्दैमा आफूले नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् ।

समर्थन फिर्ता लिए राजीनामा : ओली

प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा नदिएको बताए । ‘आज मागेको हो र राजीनामा ? माग्यामाग्यै छ त, मागेपिच्छे म कसरी दिन सक्छु ? एक दिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्यामाग्यै छ,’ उनले भने, ‘ए बाबा हटाऊ न त, समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छन् । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन, अनि राजीनामा माग्छन् ।’

ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् । प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको थियो । उसले ओलीलाई हटाएर आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने पनि निर्णय गरेको थियो ।

ओलीले राजीनामाको समाचारलाई प्राथमिकता दिएको तर सरकारले गरेका विकास–निर्माणका कामलाई अगाडि नराखेको भनेर सञ्चारमाध्यमप्रति असन्तुष्टि पोखेका छन् । उनले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानीजस्ता परियोजनाका समाचार अगाडि नल्याएको भन्दै आलोचना गरेका हुन् । ‘दिनैपिच्छे राजीनामा माग्छन्, दिनैपिच्छे त्यो समाचार छाप्छन् तर मेलम्चीको पानी आएको समाचार छाप्दैनन्,’ उनको असन्तुष्टि थियो ।

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दलहरूले सडकदेखि सदनसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् । प्रधानमन्त्री ओली भने सर्वोच्चको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भनेर फैसला आउँदा पनि उक्त कदम सही थियो भनेर जिकिर गरिरहेका छन् । उनले संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताएका छन् ।

‘कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ, कहिले कृत्रिम ढंगले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्,’ १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले भने, ‘संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । संसदीय अंकगणितमा यदि अनुपयुक्त खेल भइरहेको छ, त्यसले अनुपयुक्त आकार लिइरहेको छ, त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ भने त्यस्तो अवस्थामा देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।’ प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकताअनुसार संसद्को अंकगणित बनाइनुपर्नेमा जोड दिए ।

‘संसद्लाई देशको आवश्यकताअनुसार अंकगणितीय बनावटमा लैजानुपर्छ, संसदीय अंकगणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्छ ।’ उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले देशको आवश्यकतासँग अंकगणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूले संसद् विघटन गरेको प्रस्टीकरण दिए । ‘राष्ट्रिय आवश्यकतासँग अंकगणितले तादात्म्य राखेन, हामीले तादात्म्य राख्न कोसिस गर्‍यौं, भएन । तब ताजा जनादेशमा जानुपर्‍यो,’ उनले भने, ‘मेरो विचारमा फेरि पनि ढिलोचाँडो ताजा जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी, अनुकूल अंकगणितबिना देश अगाडि जानै सक्दैन । त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ । देशको विकास र राष्ट्रिय आकांक्षालाई परिपूर्ति गर्ने खालको अंकगणित निर्माण गर्नुपर्छ ।’

प्रधानमन्त्रीले विकास निर्माणका कामलाई अवरोध नगरी निरन्तर चालु राखेमात्र चाँडो विकास हुने बताए । आयोजनामा कुनै आर्थिक अनियमितता भए छानबिन र काम पनि सँगसँगै लैजानुपर्ने उनको भनाइ थियो । ‘दोषी पाइए कारबाही गर्नुपर्छ तर विकास–निर्माणमा अवरोध भयो भने त्यसले बहुआयामिक क्षति पुर्‍याउँछ,’ उनले भने । उनले विकास निर्माण सरकारको मात्र चाहना नभई सबैको सरोकारको विषय भएकाले कुनै विलम्ब नगरी सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : चैत्र २२, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?