कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देशभर एमालेको संगठन निर्माण अभियान सञ्‍चालन गर्ने खनाल-नेपाल समूहको निर्णय

'नेकपा (एमाले)को एकता बचाऔँ र कम्युनिस्ट आन्दोलनको रक्षा गरौं' भन्ने मूल नाराका साथ २ महिने अभियान घोषणा

काठमाडौँ — नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबारको बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए । 

देशभर एमालेको संगठन निर्माण अभियान सञ्‍चालन गर्ने खनाल-नेपाल समूहको निर्णय

कलंकीमा भएको बैठकले पार्टीका अन्तरविरोधलाई लिएर कार्यकर्तालाई प्रशिक्षित गर्ने निर्णय लिएको पनि नेता भट्टराईले जानकारी दिए ।

'चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लगिने भएको छ,' स्थायी कमिटी बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भट्टराईले भने, 'आगामी दुई महिनाको लागि देशभरी पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने 'नेकपा (एमाले)को एकता बचाऔँ र कम्युनिस्ट आन्दोलनको रक्षा गरौं' भन्ने मूल नारा तय भएको छ ।'

आगामी दुई महिनाका लागि विभिन्न कार्यक्रम तय गरिएको र त्यसका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिए । 'दुई महिने अभियानका क्रममा २०७५ जेठ २ गतेसम्मको पार्टी कमिटी पुनर्सञ्चालन, गठन र पुनर्गठन गर्ने निर्णय भएको छ । जिल्लाहरूमा भेला गर्ने निर्णय भएको छ यसका लागि केन्द्रीय कमिटीका र अन्य नेताहरूलाई कार्यविभाजन गरेर खटाइने भएको छ,' उनले भने ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरिरहेको भन्दै खनाल-नेपाल समूहले पार्टीभित्रको अन्तरविरोधका विषय प्रकाशित गर्ने र कार्यकर्तामाझ बाँड्ने भएको छ । 'पार्टीमा उत्पन्न भएको अन्तरविरोधको राजनितिक, सांगठानिक, वैचारिक, सैद्धाान्तिक पक्ष, कार्यशैलीका भिन्नतालगायतका विषय समेटेर प्रशिक्षण सामग्री तयार पारिने र प्रकाशित गर्ने निर्णय भएको छ,' भट्टराईले भने ।

यी सबै गतिविधि पार्टी एकता जोगाउनका निम्ती गरिन लागिएको खनाल-नेपाल समूहले जानकारी दिएको छ । उसले यो दुई महिनाको अवधिमा तीनवटा ठूला सभा गर्ने निर्णय पनि लिएको छ । वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने यो समूहले वैशाख १३ गते मनमोहन अधिकारी स्मृतिमा विराटनगरमा सभा गर्ने भएको छ । त्यस्तै जेठ ३ गते मदन-आश्रित दिवसका अवसरमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने निर्णय यो समूहले लिएको छ ।

स्थायी कमिटीको बैठकले एमालेको एकतामा जोड दिएको बताउँदै नेता भट्टराईले अहिलेको विवाद अध्यक्ष ओलीका कारण भइरहेको बताए । उनले अहिले एमालेको एकता संकटमा परेको बताउँदै त्यसलाई सुल्झाउनका निम्ति पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फिर्किनुपर्ने स्पष्ट धारणा रहेको बताए ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टीबाट निलम्बन गरेकोतर्फ इंगित गर्दै भट्टराईले भने, 'कारबाहीले समस्या समाधान हुन्न । उताको गुटमा अध्यक्ष ओलीको मनमौजी चलिरहेको छ । पार्टी अध्यक्ष केपी ओलीले यी गतिविधिमाथि पुनर्विचार गर्नुहुन्छ र फर्किनुहुन्छ भन्ने विश्वास छ ।'

खनाल-नेपाल पक्षको राष्ट्रव्यापी अभियानले एमालेको एकतालाई बल पुग्ने भट्टराईको भनाइ थियो । उनले अभियानको मूल नारा नै 'एमालेको एकतालाई जोगाऔं' रहेकाले पार्टी विभाजन गर्नका लागि यस्ता गतिविधि गरिरहेको भन्न आरोप निराधार रहेको बताए ।

प्रकाशित : चैत्र २१, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?