कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने

काठमाडौँ — एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाउपर पुनरावलोकन नहुने भएको छ ।

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरावलोकन गर्न दिएको निवेदनलाई सर्वोच्च अदालतले बिहीबार अनुमति नदिने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकनका लागि अनुमति नदिने फैसला गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले पुनरावलोकन नहुने जानकारी दिए ।

इजलासले पुनरावलोकन नहुने भनी आदेश गरेपछि अब एमाले र माओवादी नै अस्तित्वमा रहने भएका छन् ।

दाहालले ‘सर्वोच्च अदालतको गैरकानुनी आदेशले आफूलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष कायम गराएको भनिएको’ भन्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अध्यक्षको हैसियतमा निवेदन दर्ता गराएका हुन् ।

दाहालले दर्ता गरेको निवेदनमा विभिन्न २० वटा आधार र कारण अघि सारेर उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी छ । ‘संविधान र कानुनसम्मत तबरबाट दलहरू एकीकरण भई एकीकरणको सम्बन्धमा कुनै विवादसमेत नरहेको अवस्थामा छुट्टिन बाध्य पारिएको आदेशले न्यायको मान्य सिद्धान्तको घोर अवज्ञा र उपहास गरेको छ,’ निवेदनमा छ, ‘यो आदेश संविधानको धारा १७ को उपधारा २ विपरीत छ ।’

प्रकाशित : चैत्र १९, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?