कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले गरेको निलम्बन पूर्णरूपमा अस्वीकार गर्दछु : रावल 

काठमाडौँ — एमाले नेता भीम रावलले पार्टीबाट निलम्बन गर्ने प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्णय पूर्णरूपमा अस्वीकार गर्ने बताएका छन् । 

ओलीले गरेको निलम्बन पूर्णरूपमा अस्वीकार गर्दछु : रावल 

स्पष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै ओलीले सोमबार नेताहरू माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णयको विरुद्धमा नेता रावलले भनेका छन्, 'नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु ।'

यसअघि ओलीले केन्द्रीय कमिटी भंग गरेर मंसिरमा महाधिवेशन गर्ने निर्णय लिएका थिए । उक्त निर्णय गर्ने बैठकलाई नेपाल पक्षले बहिष्कार गरेको थियो ।

'ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो । तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो,' रावलले ओलीलाई आरोप लगाएका छन्, 'यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो ।'

रावल एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : चैत्र १६, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?