कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो

काठमाडौँ — चीनले अनुदानमा दिएको कोरोना खोप सोमबार काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।

चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो

उक्त खोप चिनियाँ राजदूत हउ यान्छीले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमानले खोप काठमाडौं ल्याएको हो । खोप लिन एयरलाइन्सको जहाज आइतबार चीन गएको थियो ।

चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । त्यस्तै नेपालले सिरमसँग २० लाख डोज खोप खरिद गर्न भुक्तानी गरिसके पनि अहिलेसम्म १० लाख डोज मात्रै प्राप्त भएको छ । त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । उक्त सुविधाअन्तर्गत नेपालले जम्मा २२ लाख डोज खोप पाउनेछ ।

त्यस्तै भारतीय सेनाले आइतबार नेपाली सेनालाई १ लाख डोज कोरोना खोप सहयोगमार्फत उपलब्ध गराएको थियो ।

चीनले दिएको समेत गरी अहिलेसम्म नेपालमा ३१ लाख ४८ हजार डोज कोरोना खोप भित्रिएको छ । जसमध्ये करिब १६ लाख ७३ हजार डोज खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख ७ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।

प्रकाशित : चैत्र १६, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?