प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल

चैत्र १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्री र सभामुखबीच शिष्टाचार भेट भएको थापाले बताए । 

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संघीय संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिए । 'बिहान ११ बजेदेखि भेट भएको हो । बालुवाटारमा भएको भेटमा मुख्यगरी संसदलाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधि र संसद्‍मा विचाराधीन महत्त्वपूर्ण विधेयकबारे छलफल भयो,' न्यौपानेले भने । 

भेटका क्रममा सभामुखले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताइएको छ । सभामुखले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच लामो समययता एक्लाएक्लै भेट भएको थिएन । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम र संवैधानिक परिषद्‍सम्बन्धी विधेयकका विषयमा पनि दुवैबीच विवाद रहेको थियो । 

सभामुख सापकोटा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेशविरुद्ध प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाएर मुद्दा लिई सर्वोच्च अदालत पुगेका थिए भने प्रधानमन्त्री ओलीले सभामुख झगडिया भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । 

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully