प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्‍ने स्थापित गर्न संसद्लाई कामविहीन बनाउने प्रपञ्‍च भयो : सांसद थापा

चैत्र १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रतिनिधिसभा भंग गर्ने कदम सही थियो भन्ने साबित गर्नका लागि संसद्लाई कामविहीन बनाइएको बताएका छन् । 

संसद् छल्न अधिवेशन अन्त्य गरेको र पार्टीभित्रको विरोधी पक्षलाई तह लगाउन संसद् नै भंग गरेको भन्दै थापाले अहिले संसद्सँग बदला लिन प्रधानमन्त्री लागेको बताएका हुन् । 'कहिले संसद् छल्न हठात् अधिवेशन स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद् भंग । अनि प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च,' थापाले भने । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् थापाले भने, 'हामी स्पष्ट छौं, जतिदिन यो सरकार रहन्छ संसद्को तिरस्कार अपमान गर्ने क्रम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनुछ ।'

थापाले वर्तमान सरकार रहेसम्म संसद्को तिरस्कार बढ्दै जाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्सँग बदला लिनुपर्ने भएकाले वर्तमान सरकार रहेसम्म संसद्को तिरस्कार र अपमान बढ्दै जाने उनले बताएका हुन् । 

संसद् विधेयक अधिवेशनमा काम गर्न तयार रहेको भए पनि सरकारका कारण नै संसद् अगाडि बढ्न नसकेको थापाको भनाइ थियो । यसबारे उनले भने, 'एसिड आक्रमणकारीलाई कारबाही गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने तर संसद्लाई एउटा विधेयक पनि नदिने ? अनि विधेयकलाई कानुन बनाउनका निम्ति चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने ?' 

संसद्को गरिमा कायम राख्नका निम्ति सांसदहरू संसद्‌मा लड्न तयार रहेको बताएका थापाले बाँकी जिम्मा जनताको पक्षमा राख्नुपर्ने बताए । संसद्को गरिमा सांसदहरूको मात्रै नभएर जनताको सरोकारको विषय रहेको बताए । 'यो संसद् र सांसद्को अपमान यो लोगो लगाउने केही थान सांसद्को अपमान, तिरस्कार र उपेक्षा होइन । यो ती जनताको अपमान हो जसले यो संसद् बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी थिइन् । उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै विघटन बदर गरेको थियो । 

सम्बन्धित समाचार

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully