भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदा सरकार मौन समर्थन गरिरहेको छ : सांसद बडू

चैत्र १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बडूले समय माग गरेर दार्चुलामा भारतले नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

'दार्चुला सदरमुकामको गल्फै गाउँमा नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको छ,' दार्चुलाका सांसद बडूले भने, 'भारतका एसडीएम र डीएमसँग भनियो तर कुनै सुनुवाइ भएको छैन । जनताले पटकपटक विरोध गर्दा पनि केही जवाफ आएको छैन । पटकपटक ताकेता भएको छ गृहमन्त्रालयमा तर नेपाल सरकार मौन समर्थथन गरिरहेको छ ।'

बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको बडूको भनाइ छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारीले केन्द्रमा सरकारले नै पहल गर्नुपर्ने तर केही नगरेको भनेर गुनासो पोखेको बताए । 

भारतले नेपाली भूमिका जिल्ला अस्पताल, सामुदायिक वन क्षेत्र, मन्दिर र अन्य सरकारी कार्यालय पनि भारतीय भूमिमा जान लागेको बडूको भनाइ छ । 

भारतले विभातमा एकतर्फी नदीमा निर्माण गरेकाले नेपाली भूमि भत्किएको तर अहिले आएर नेपाल तर्फ नै निर्माण थालेको प्रति बडूले सरकारको ध्यानाकर्षण गराएका हुन् । गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले जिम्मेवारी पूरा नगरेको र प्रमुख जिल्ला अधिकारी केन्द्र सरकारको आदेश कुरेर बसिरहेको उनले संसद्‍मा बताए । यस्तो अवस्थामा पनि सरकार मौन बसेको उनको भनाइ थियो । उनले तत्काल उक्त भूमिमा निर्माण कार्य रोक्न माग गरेका छन् ।

सम्बन्धित समाचार 

कान्तिपुर

Link copied successfully