विश्‍वकै उत्कृष्ट संविधान भन्‍ने च्यात्‍नतिर लागे, मान्दैनौं भन्‍ने हामीले बचाउन आन्दोलन गर्नुपर्‍यो : यादव

चैत्र ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले विश्वकै उत्कृष्ट भन्नेहरूले संविधान च्यातेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै यादवले संविधान निर्माणका क्रममा विश्वकै उत्कृष्ट संविधान भन्नेहरू त्यसलाई च्यात्न लागेका बेला संविधान मान्दैनौं भन्नेहरूले आन्दोलन गर्नुपरेको बताए । 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाको आलोचना गर्दै राजकिशोर यादवले भने, 'विश्वकै उत्कृष्ट संविधान हो, यस्तो संविधान त कहीं छैन भन्ने शक्तिहरू संविधान च्यातचुत पारेर फाल्नतिर लागे । हामी हिजो यो संविधानमा मान्दैनौं, यो संविधानमा हामीले खोजेको सहभागिता भएन भन्नेहरू सडक आन्दोलनमार्फत बचाउन लाग्यौं । इतिहास कस्तो कोल्टे फेर्दोरहेछ ।'

तत्कालीन सत्तारुढ नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा जनताको सर्वोच्च संस्था असंवैधानिक रूपमा विघटन गरिएको यादवको भनाइ थियो । लडेर ल्याएको व्यवस्थालाई सही ढंगबाट अगाडि बढाउन नसकिएको पनि उनको भनाइ थियो । 

अहिलेको नेतृत्वमा मूल्य र मान्यतामा चल्ने अभ्यासको कमी रहेको उनको भनाइ थियो । सिंहदरबामा आगो लाग्दा पञ्चायतकालीन प्रधानमन्त्री कृतिनिधि विष्टले राजीनामा गरेको र भ्रष्टाचारका थोरै कुरा उठ्दासम्म मन्त्रीहरूले राजीनामा गरेको भन्दै अहिलेको नेतृत्वले राजीनामा नदिएको उनको भनाइ थियो । आफू अनुकूल भाष्य निर्माण गर्न लागिएको उनले बताए । 

सांसद रेशम चौधरीको कुरा गर्दा सरकारको लेनदेनको कुरा गर्न नहुने यादवको भनाइ थियो । उनले थरुहट आन्दोलनमा भएका बन्दीसँग राजनीतिक आन्दोलनका बन्दीका सरह व्यवहार गर्नुपर्ने बताए । आफूहरूले सरकारमा जानका लागिमात्रै रेशमको मुद्दा नउठाएको उनले बताए । रेशमसँग नेत्रविक्रम चन्द र सिके राउतसँगको जस्तै व्यवहार हुनुपर्ने उनको माग थियो ।

एकले अर्कालाई आरोप-प्रत्यारोप तथा निषेध गर्ने अभ्यास संसदमा देखिएको भन्दै त्यतातर्फ नलाग्न यादवले आग्रह गरे । संसदले कार्यकारीको आलोचना गर्ने कुरालाई निषेध गर्न नहुने बताए । सरकारले बिजनेस नदिँदा संसद्ले काम गर्न नसकेको अवस्थामा संसद्ले नै काम गर्न नसकेको जस्तो बनाउन खोजेको बताए । 'सरकारले बिजनेस दिनुपर्छ र संसदलाई अगाडि बढाउनुपर्छ,' उनले भने । 

जसपा एकढिक्का रहेको र मिडियामा आएजस्तो विभाजित नभएको भन्दै उनले सही समयमा सही निर्णय लिइने बताए । 

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully