काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेताहरूले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने सत्ताधारी र प्रतिपक्षी दलका नेताहरूको नामको टुंगो लागेको हो ।
सभामुखको सचिवालयका अनुसार प्रतिनिधिसभालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्नेछन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता पम्फा भुसालले सम्बोधन गर्ने तय भएको छ ।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण र जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले पनि सम्बोधन गर्ने भएका छन् । त्यस्तै, नेमकिपाका प्रेम सुवाल, जनमोर्चाका सांसद दुर्गा पौडेल र राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । फागुन २३ यता प्रतिनिधिसभाका तीनवटा बैठक बसे पनि कुनै सांसदले पनि बोल्न पाएका छैनन् । प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलोपटक दोस्रो तहका नेताहरूले सम्बोधन गर्न लागेका हुन् ।
