काठमाडौँ — नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहानका लागि बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएको छ ।एमाले संसदीय दलका नेता ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीति र पार्टीभित्रको विवादको विषयमा छलफल गर्नका लागि भन्दै संसदीय दलको बैठक बोलाएका छन् ।
एमालेको नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएको छ । एमाले सचिव योगेश भट्टराईले भने, 'आजमात्र हामीलाई मोबाइलमा सूचना आएको थियो कि 'प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाउनुभएको छ' भनेर ।'
राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाह पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने भट्टराईले बताए । 'संसदीय दलका नेता, प्रधानमन्त्री, संसदीय दलको कार्यालयलाई यो कुरा राम्रोसँग जानकारी थियो कि एमालेको राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ । संघीय सांसद, प्रदेश सांसद र संसदीय फाँटका व्यक्तिहरूको यहाँ उपस्थिति छ भन्ने उहाँहरूलाई राम्रोसँग थाह थियो,' उनले भने ।
संसदीय दलमा जान कुनै समस्या नरहेको तर बिहीबार बोलाइएको बैठकको समय अनुकूल नभएको भट्टराईको भनाइ थियो । त्यसको जानकारी प्रधानमन्त्री तथा दलका नेता ओलीलाई गराइसकिएको पनि उनले जानकारी दिए 'संसदीय दलमा जानका लागि कुनै समस्या छैन । हामीले राष्ट्रिय कार्यकर्ता भेलाको कार्यव्यस्तताले भोलिको बैठकमा उपस्थित हुन सक्दैनौं भनेर जानकारी गराएका छौं । अनुकूल हुने समयमा हामी जान्छौं भनेका छौं ।'
संसदीय दलको बैठक शुक्रबार बिहान राख्दा पनि हुने भट्टराईको भनाइ थियो । दिउँसो संसद् बैठक रहेको र त्यसभन्दा अगाडि बैठक राख्दा उचित हुने उनले सुझाए ।
दलको बैठकमा अनुपस्थित भएमा कारबाही हुन्छ भन्ने ओली पक्षले दिएको चेतावनीबारे सञ्चारकम्रमीको जिज्ञासामा भट्टराईले भने, 'शब्दकोषमा कारबाही भन्ने शब्द छ र हाम्रा अध्यक्षले प्रयोग गरिरहनुभएको छ । शब्द प्रयोग गर्न प्रधानमन्त्री खप्पिस हुनुहुन्छ ।'
नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलामा उपस्थित भएमा कारबाही गरिने एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर मंगलबार नै चेतावनी दिएका थिए ।
