कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भट्टराईले बताए । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाएको उनले जानकारी दिए ।

दलको बैठकका एजेन्डाबारे भट्टराईले भने, 'समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल हुनेछ ।'

एमाले पार्टीभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

यसबारे भट्टराईले संसदीय दलको बैठकमा छलफल हुने र एक ढिक्का भएर कसरी संसद्मा जाने भन्ने छलफल हुने बताए । 'पार्टीभित्र केही विषम् परिस्थिति उत्पन्न भएको छ । संसद्‌मा पनि त्यसको प्रभाव परेको छ । कसरी एक ढिक्का बनाउने भन्ने भन्ने विषयमा छलफल हुनेछ,' उनले भने ।

प्रकाशित : चैत्र ४, २०७७ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?