३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बालुवाटारमा ओलीको चियापान नेपाल र गौतम समूहद्वारा बहिष्कार

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम समूहले बहिष्कार गरेका छन् ।

बालुवाटारमा ओलीको चियापान नेपाल र गौतम समूहद्वारा बहिष्कार

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजना गरिएको चियापानमा सांसद र केन्द्रीय सदस्यलगायतका नेतालाई बोलाइएको थियो । तर फागुन २८ गते ओली पक्षले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल र गौतम समूह चियापान कार्यक्रममा नगएका हुन् ।

सोमबार मात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको थियो । नेताहरुले उक्त भेट सकारात्मक भएको बताए पनि दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा नेताहरुबीचको तिक्तता भने कम भएको छैन । सोमबारको भेटमा अध्यक्ष ओलीले नेपाललाई चैत ४ र ५ गते डाकिएको राष्ट्रिय भेला रोक्न आग्रह गरेका थिए । तर नेपालले भने फागुन २८ गते गरेको एकपक्षीय निर्णय सच्याए मात्रै उक्त भेला रोक्न सकिने ओलीलाई जवाफ दिएका थिए ।

यसैबीच नेपाल समूहले बुधबार र बिहीबार बोलाइएको राष्ट्रिय कार्यकता भेलाका बारेमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ ।

त्यस्तै वामदेव गौतम समूह पनि बालुवाटारमा ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नगई एकता राष्ट्रिय अभियानको कार्यसम्पान समितिको पूर्ण बैठक आयोजना गरेको छ । गौतमले नेकपा एमाले एकता अभियान चलाइरहेका छन् । उनले मंगलबारको बैठकमा वाम सरकार बनाउन ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति हुनुपर्ने बताएका छन् ।

गौतमले पनि २८ गते ओलीले एक्लौटी निर्णय मान्न नसकिने बताउँदै आएका छन् ।

प्रकाशित : चैत्र ३, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?