कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार-चन्द समूह सहमतिपछि कालीकोटवासी भन्छन्- ‘शान्तिको आशा पलायो’

तुलाराम पाण्डे

कालीकोट — नेत्रविक्रम चन्द समूह र सरकारबीच भएको तीनबुँदे सहमतिपछि कालीकोटवासी खुसी भएका छन् । १० वर्षे द्वन्द्वका क्रममा कालीकोटका मात्रै करिब ६ सय बासिन्दाले ज्यान गुमाएका थिए । पुनः चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि कालीकोटवासी त्रसित बनेका थिए ।

सरकार-चन्द समूह सहमतिपछि कालीकोटवासी भन्छन्- ‘शान्तिको आशा पलायो’

चन्द समूहको प्रभाव क्षेत्र मानिने कालीकोटमा स्थानीय तहका जनप्रतिनिधि बढी सकसमा थिए । चन्द समूहले राजीनामा माग्ने, आवतजावतमा अवरोध गर्ने, अनियमितता गरेको भन्दै दुर्व्यवहार गर्ने, कार्यालयमा आगजनी गर्नेजस्ता क्रियाकलाप बढाएपछि उनीहरू त्रासमा थिए । अब शान्तिको आशा पलाएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

‘जनतामा ठूलो डरत्रास थियो,’ उनले भने, ‘अब त्यसको अन्त्य भएको छ ।’ कालीकोट चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृृहजिल्ला हो । सरकारसँग वार्तामार्फत शान्तिपूर्ण बाटोमा आउने प्रतिबद्धताले दिगो शान्तिको चाहना पूरा हुने नागरिक समाजका अगुवा दमनराज बमले बताए । ‘अशान्तिबाट मुक्ति पाइने भयो,’ बार एसोसिएसनका जिल्ला अध्यक्ष बमले भने, ‘अब गाउँमा हुने विभिन्न डरत्रासको पनि अन्त्य भएको छ ।’

२०७४ को स्थानीय चुनावमा चन्द समूह र प्रहरीबीच झडप हुँदा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए । उनकी पत्नी मनसराले देशमा दिगो शान्ति आउनुपर्ने बताइन् । गत फागुन ३ मा चन्द समूहको जनपरिषद्ले कालीकोटका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई छुट्टाछुट्टै पत्र बुझाएर राजीनामा मागेको थियो । अब त्यस्ता त्रासबाट छुटकारा पाइने खाँडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टले बताइन् । सरकारको अवस्था जे–जस्तो भए पनि विद्रोह गरेर राज्यविरुद्ध गतिविधिमा संलग्न समूहलाई शान्तिको बाटोमा ल्याउनु सकारात्मक भएको उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वमा माओवादीको आधार इलाकाका रूपमा चिनिएको कालीकोटमा पुनः चन्द समूहले संगठन विस्तारलाई तीव्रता दिएको थियो । ‘जनक्रान्ति’ मा होमिए पनि अहिलेकै व्यवस्थामा जनताका समस्या समाधान हुने वातावरण बनेको चन्द समूहका जिल्ला इन्चार्ज मनिलाल ऐडीले बताए । ‘जनतालाई संगठित गर्दै अनियमितताविरुद्ध खबरदारी गर्ने अभियान भने जारी नै छ,’ उनले भने, ‘पार्टीका थप गतिविधिबारे केन्द्रले पनि निर्णय गर्ला ।’

चन्द समूहले कालीकोटमा आफ्नै पहलमा सडक निर्माण सुरु गरेको थियो भने स्थानीय तहले गर्ने विकास निर्माणमा पनि अनियमितता भएको भन्दै खबरदारी गर्दै आएको थियो । चन्द समूहले दुई वर्षअघि फागुन १ मा खुलालुदेखि माल्कोट हुँदै रुप्सासम्मको सडक निर्माण सुरु गरेको थियो । जिल्लामा पूर्वमाओवादीका धेरैजसो पुराना नेता चन्द समूहतिर लागेका छन् । २०६४ सालमा निर्वाचित दुवै सांसद खड्कबहादुर विश्वकर्मा र धीरेन्द्र उपाध्यायसहित भरत बम, एटम बीसी, कर्णबहादुर भण्डारी, मनिलाल ऐडीलगायत नेता चन्द समूहमा छन् ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २१, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?