दाहाल-नेपालले देउवालाई भने : अब मिलेर जाऔं 

देउवाले दिए जवाफ : पार्टीमा छलफल गरेर जवाफ दिन्छौं
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अब सँगै मिलेर जान आग्रह गरेका छन् ।

दाहाल-नेपालले देउवालाई भने : अब मिलेर जाऔं 

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै दाहाल र नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

दाहाल र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताएका थिए । बैठकपछि अध्यक्ष नेपालले आफूहरुले अब आफ्नो पार्टी मिलेर अघि बढ्न चाहेको र कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउन चाहेको देउवालाई बताएको जानकारी दिए ।

नेकपा अध्यक्ष नेपालले भने, ‘कांग्रेस पार्टी, जसपा र केपी ओलीको प्रतिगमनविरुद्धमा रहेका पार्टीहरुसँग मिलेर जाने पक्षमा हामी छौं । केपी ओलीले राजीनामा दिन्छन् भने सबैभन्दा राम्रो । राजीनामा दिएनन् भने उहाँलाई निकाल्नु पर्छ र अर्को संयुक्त सरकार बनाउनु पर्छ, मिलेर अघि बढ्यौं भन्यौं ।’

देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘उहाँहरुले मिलेर आयौं भनेर सभापतिजीलाई भन्नुभयो । उहाँले पार्टी भित्रमा छलफल गरेर भन्छु भन्नु भएको छ ।’ उनका अनुसार कांग्रेसको शीर्ष नेताहरुसहित पदाधिकारीहरुको बैंठक बिहीबार देउवा निवासमा बोलाइएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?