कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले ११ बजे बालुवाटारमा डाके स्थायी कमिटी बैठक

४ बजे सिंहदरबारमा दाहाल-नेपाल समूहको पनि संसदीय दल बैठक  बस्दै
इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन् । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा पैसला गरेपछि ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

ओलीले ११ बजे बालुवाटारमा डाके स्थायी कमिटी बैठक

बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली आफैले कुनै प्रतिक्रिया दिएका छैनन् । तर मंगलबार साँझ उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका थिए । प्रधानमन्त्रीले प्रतिनिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने प्रेस सल्लाहकार थापाले प्रतिक्रिया दिएका थिए । संसद् पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विवादास्पद भन्दै थापाले यसका दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने पनि बताएका थिए ।

यसैबीच पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले पनि बुधबार अपरान्ह ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । दाहाल-नेपाल पक्षकी सांसद रेखा शर्माले समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिइन् । उनले भनिन्, '४ बजे सिंहदरबारमा बैठक बस्नेछ र समसामयिक विषयमा छलफल गर्नेगरी बैठक बोलाइएको हो । नेकपाका सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन भनिएको छ ।'

दाहाल-नेपाल समूहले यसअघि नै पुस ९ गते ओलीलाई हटाएर संसदीय दलको नेतामा दाहाललाई निर्वाचित गरेको थियो ।

संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलाको खुसियालीमा दाहाल-नेपाल समूहले बुधबार बिहान सबै जिल्ला सदरमुकाममा कार्यक्रम आयोजना गरेको थियो । उक्त समूहले बुधबार मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा पनि कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?