'प्रधानमन्त्रीलाई चित्त दुख्यो होला तर देश दुर्घटनामा जानबाट जोगियो'
काठमाडौँ — पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर सर्वोच्चले गरेको ऐतिहासिक फैसलाले संविधान र संविधानवादभन्दा माथि कोही छैन भन्ने कुरालाई पुन:पुष्टि र प्रमाणित गरिदिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चको फैसलाले चित्त दुखेको हुन सक्ने भए पनि देश दुर्घटनाबाट जोगिएको उनले बताए । उनले भने, 'प्रधानमन्त्रीले जुन कदम चाल्नुभएको थियो, उहाँका लागि प्रिय त पक्कै होइन, चित्त दुख्यो होला तर देश दुर्घटनामा जानबाट जोगियो । प्रधानमन्त्री पनि संसद्को एउटा सदस्य भएको नातामा यसबाट धेरै दुःखी हुनुपर्ने कारण छैन ।'
प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पोखरेलको प्रतिक्रिया
प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर सर्वोच्चले गरेको ऐतिहासिक फैसलाले संविधान र संविधानवादभन्दा माथि कोही छैन भन्ने कुरालाई पुनर्पुष्टि र प्रमाणित गरिदियो । फैसलाले संविधानलाई जोगाइदिएको छ । तानाशाही प्रवृत्ति, चाहे त्यो निर्वाचित वा अरू, संविधानभन्दा माथि कसैलाई जान दिएन ।
मूलभूत रूपमा संवैधानिक सर्वोच्चतालाई लिकबाहिर जान दिएन । भंग हुन लागेको संविधानलाई फैसलाले जोगाइदिएको छ । ट्र्याकमा ल्याइदिएको छ । कुनै पनि तानाशाही प्रवृत्तिको नेतृत्वले आफूअनुकूल चाहँदैमा निर्वाचित निकायलाई बिगार्न वा भंग गर्न पाउँदैन भन्ने कुराको सन्देश दिएको छ । जनताको सार्वभौमसत्ता जननिर्वाचित थलो नै हो ।
त्यहींबाट सबै कुराको निकास खोजिनुपर्छ । अदालतले संविधान र संसद्बाट नै यावत् समस्याको समाधान गर भन्यो । भित्रैबाट सबै कुराको छिनोफानो हुनुपर्छ । प्रधानमन्त्रीले जुन कदम चाल्नुभएको थियो, उहाँका लागि प्रिय त पक्कै होइन, चित्त दुःख्यो होला तर देश दुर्घटनामा जानबाट जोगियो । प्रधानमन्त्री पनि संसद्को एउटा सदस्य भएको नातामा यसबाट धेरै दुःखी हुनुपर्ने कारण छैन ।
