सर्वोच्चको फैसलाले ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको छ : बृहत् नागरिक आन्दोलन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको बृहत् नागरिक आन्दोलन समूहले जनाएको छ । सर्वोच्चको फैसलाले संवैधानिक प्रक्रिया सुरु गर्न राजनीतिक दलहरूलाई वैधानिक बाटो दिएको आन्दोलनले बताएको छ ।

सर्वोच्चको फैसलाले ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको छ : बृहत् नागरिक आन्दोलन

‘संसद् विघटन त्यसअघिदेखि नै सुरु भएका असंवैधानिक अभ्यास र प्रतिगामी कदमहरुको प्रकट रुप मात्र थियो । विघटनसम्म पुग्नका लागि राजनीतिक प्रक्रियामा निहित जड कारणहरुको आत्मसमीक्षा गर्दै अब राजनीतिक दलहरूले अग्रगामी राजनीति सुनिश्चित गर्न संविधानमा पहिल्यैदेखि रहेका असन्तुष्टि सम्बोधन गर्नुपर्छ ।’ नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बृहत् नागरिक आन्दोलनले फागुन ७ गते जारी गरेको घोषणापत्रमार्फत् राजनीतिक प्रक्रियामा जनताको स्वामित्व कायम गर्न दबाब जारी राख्ने संकल्प गरेको थियो । बृहत नागरिक आन्दोलनले सामाजिक न्यायसहितको लोकतन्त्रलाई आमनागरिकले जीवन्त रुपमा महसुस गर्न सकिने अवस्था निर्माण गर्न तथा असन्तुष्ट समुदायहरूले अपनत्व बोध गर्न सक्ने गरी संविधानलाई अध्यावधिक गर्न निरन्तर संघर्षरत् रहने बताएको छ ।

त्यस्तै, आन्दोलनले राजनीतिलाई जनताको पकडमा ल्याउन विभिन्न नागरिक तथा सामाजिक समूहसँग संवाद गर्दै नित्य खबरदारी गरिरहने पनि बताएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?