काठमाडौँ — सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरको फैसलाले समस्त जनता र संविधानको जित भएको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा उनले सर्वोच्चको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको बताएका हुन् ।
'आजको फैसलाले नयाँ आयाम खडा भएको छ । लोकतन्त्रकको विकास, सुदृढिकरणमा बल पुगेको छ', उनले भने, 'मैले फैसलाको प्रारम्भिक अध्ध्यन गरेको छु । यसले राज्यका महत्वपूर्ण तीन अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्गनिर्देश गरेको छ ।'
सर्वोच्चको फैसला आउनका पछाडि सिंगो नेपाली जनता, नागरिक समाज, सबै राजनीतिक पार्टी र सर्वोच्च अदालतका न्यायाधीश, पूर्वन्यायाधीश र संचारकर्मीको एकिकृत प्रयत्नद्वारा महान् सफलता हासिल गरेको बताए । पुस ५ गतेदेखि आजको दिनसम्म भएका बहसकाबीच यसले संविधानको रक्षा मात्रै नभई विकास र समृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको पनि बताए ।
यसैगरी उनले समामुखको हैसियतले आफूले सपथ लिएको दिनदेखि संसद्लाई जीवन्त र जनमुखी बनाउन गरेको संकल्प र आधारलाई सहयोग पुग्ने बताएका छन् ।
