प्रतिनिधिसभा बैठक अगाडि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : वामदेव गौतम- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभा बैठक अगाडि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : वामदेव गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

इकान्तिपुरसँगको छोटो प्रतिक्रियामा गौतमले प्रतिनिधिसभा बैठक अगाडि नै ओलीले राजीनामा दिएर अर्को प्रधानमन्त्री चुन्न सहयोग गर्नुपर्ने बताए ।

‘अब पार्टी एकता गर्ने र पार्टी एकताको आधारमा नेकपाकै प्रधानमन्त्री बनाउने हो । केपी ओली अब प्रधानमन्त्री बन्न सक्नु हुन्न । उहाँले नैतिकताको आधारमा संसद् बैठक अगाडि नै राजीनामा दिनु पर्छ,’ गौतमले भने, ‘प्रतिनिधिसभा पुर्नस्थापना भएपछि बैठकमा गएर उहाँले सम्बोधन गर्नुपर्छ । म संविधानसभा सदस्यको नाताले मैले आफ्नो भूमिका निर्वाह गर्छु । यो संसद्ले अर्को प्रधानमन्त्री चुनोस् । अब म प्रधानमन्त्रीको उम्मेद्वार हुँदिन भनेर सम्बोधन गर्नुपर्छ ।’

सर्वोच्च अदालतले संविधानको मर्म र भावना बमोजिम फैसला गरेर संविधानलाई जोगाएको उनले बताए ।

‘सर्वोच्च अदालतको फैसला नेपालको संविधानको मर्म र भावना बमोजिम छ । मैले केपीको कदमलाई असंवैधानिक र प्रतिगामी भनेको थिए । मेरो भनाई, संविधानको भावना अनुरुप सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेको छ,’ गौतमले भने, ‘इजलासमा बसेका सबै न्यायधीशहरु धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरुले नेपालको संविधानलाई पुर्नस्थापित गर्नु भएको छ । नेपालको संविधानको रक्षा भएको छ ।’

प्रकाशित : फाल्गुन ११, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

ओलीलाई दाहालले भने, 'नैतिकता छ भने राजीनामा दिनुस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाएका छन् ।

मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमका कारण दुई महिनादेखि जनता पीडा र आवेग परेको भन्दै अब राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् । 'म केपी ओलीलाई पनि भन्न चाहन्छु, तपाईंले चालेका गलत कदमका कारण दुई महिनादेखि नेपाली जनता ठूलो पीडा र आवेग पैदा भयो । यदि तपाईंमा अलिकति पनि लाज छ । अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस् ।'

राजीनामा नआए ओलीलाई इतिहासको कठघरामा नमजासँग मिल्काइने दाहालको भनाइ थियो ।

पुस ५ गते ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको थियो । यसबीचमा नेकपा ओली समूहतिर लागेका नेता, कार्यकर्ताहरुलाई दाहालले कुनै भ्रममा नपरी आफ्नो समूहमा आउन अपील गरे । 'अब केपीको भुलभुलैयामा बस्ने समय छैन । संविधान र लोकतन्त्रको पक्षमा, मूल पार्टीमा आउनोस् हामी स्वागत गर्न तयार छौं,' दाहालले भने ।

दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन अपील गरे । 'अब हाम्रो विरोध प्रदर्शन विजय र्‍यालीमा परिणत भयो । हामी यहाँ प्रवेश गर्ने वित्तिकै बडो गौरवको फैसला आयो, यो ऐतिहासिक छ । म पार्टीको तर्फबाट देशभरि भएका साथीहरुलाई विजय र्‍याली गर्न विशेष अपील गर्छु ।'

उनले संसद् पुन:स्थापना सबैको जित भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दल, पार्टीका नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी लगायत उत्रिएका सबै जनालाई बधाई र धन्यवाद दिए । अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै दाहालले यो आफूहरुको लडाइँ कुर्सीको नभएको भनाइ दोहोर्‍याए ।

प्रकाशित : फाल्गुन ११, २०७७ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×