नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै प्रधानमन्त्री ओलीको भलाइ छ : संयोजक पाण्डे- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै प्रधानमन्त्री ओलीको भलाइ छ : संयोजक पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्तालाई चिढाएर गल्ती गरेको अभिव्यक्ति बताएका छन् ।

सोमबार काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रियामा संयोजक पाण्डेले अब नेताहरूले युवा पुस्तालाई झुक्याउन नसक्ने बताएका हुन् ।

'देशमा २४ वर्षमुनि आधा जनसंख्या छ। कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ। त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ पाण्डेले भने।

पाण्डेले थपे, ' देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ। अझ, यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ ।'

प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउनुका साथै युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको उनको धारणा थियो । 'कामचलाउ' सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेरबदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।

शान्ति, समृद्धि र विकासका सपना पूरा हुनका लागि लोकतान्त्रिक पद्धति स्थिर र बलियो हुन जरुरी भएकाले अहिले सम्पूर्ण युवा शक्ति प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर उभिनुपर्नेमा पाण्डेको जोड थियो।

प्रकाशित : फाल्गुन १०, २०७७ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले अदालतलाई धम्क्याए : मोहनविक्रम सिंह

प्रकाश बराल

बागलुङ — नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई समेत आक्रमण गरेर ओलीले अधिनायकवाद देखाएको समेत टिप्पणी गरे । सोमबार बिहान प्रगतिशील पत्रकार संघले बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता रहेको समेत बताए । ‘विराटनगर पुगेर ओलीले अदालतलाई धम्क्याएका छन्,’ उनले भने, ‘आफै असंवैधानिक काम गर्ने, आफै अदालत धम्क्याउने खेलले निरंकुशता लाद्न खोजेको देखिन्छ ।’

उनले कांग्रेससहितका सबै दलको संयुक्त आन्दोलनको बलले संसद् पुन:स्थापना गर्नुपर्ने बताए । ‘नेपाल भारत, अमेरिका र चीनको स्वार्थको क्रिडास्थल बन्ने खतरा देखिएको छ, ओली त्यसको मतियार भएका छन्,’ सिंहले टिप्पणी गरे । एमसीसीको नाममा भारत र अमेरिकाबाट नेपाल ध्वस्त पार्ने र चीनको पनि आक्रमणको स्थल नेपालै बन्ने खतरा रहेको उनको भनाइ थियो ।

पार्टीको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको आन्दोलनका क्रममा बागलुङ आएका सिंह अर्धभूमिगत रुपमा केही कार्यक्रममा सहभागी भएका थिए । पार्टी अध्यक्ष भएकाले ओलीले नै नेकपा फुट्नबाट बचाउनु पर्ने उनले बताए । ‘संवैधानिक संकट र पार्टी फुटको बेला छोपेर विदेशी शक्तिले देशको अस्मिता लुट्नेछन्,’ उनले भने, ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता सबै उपलब्धि पनि गुम्नेछन् ।’

संसद् पुन:स्थापनाबाटै समस्या समाधान र विकल्प खोज्न सकिने उनले बताए । ‘गत निर्वाचनमा हामीले एक भएको नेकपासँग चुनावी एकता गरेका थियौं, नेकपाकै सरकारलाई समर्थन गरेका थियौं,’ सिंहले भने, ‘ओलीको अधिनायकवादलाई समर्थन गर्न सकिँदैन, हामीले समर्थन फिर्ता लिइसकेका छौं ।’ प्रदेश तहमा पनि अविश्वास प्रस्ताव आयो भने दाहाल नेपाल समूहलाई साथ दिने उनको संकेत थियो । ‘गण्डकी प्रदेशमा हामीले साथ दिएका छौं, अविश्वास प्रस्ताव आयो भने ओली गुटलाई साथ दिँदैनौँ,’ उनले भने, ‘आफै सरकार ढाल्ने खेलमा भने सहभागी बन्दैनौँ ।’

प्रकाशित : फाल्गुन १०, २०७७ ११:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×